कचनकवल – अपाङ्गता भएका व्यक्तिहरूको ३३औँ अन्तर्राष्ट्रिय दिवस मंगलबार कचनकवल गाउँपालिकामा विविध कार्यक्रमसहित भव्य रूपमा मनाइएको छ। ‘समावेशी तथा दिगो भविष्यको पूर्वाधार, अपाङ्गता भएका व्यक्तिको प्रवल नेतृत्व यसको आधार’ भन्ने नाराका साथ अपाङ्गता भएका व्यक्तिहरूको अधिकारप्रति जनचेतना फैलाउन र उनीहरूको सशक्तीकरणको मार्ग प्रशस्त गर्न यस दिवसलाई विशेष रूपमा मनाइएको हो।
कचनकवल-६ स्थित वडा कार्यालयबाट सुरु भएको र्याली बनियानी बजार परिक्रमा गरी पालिकाको सभाहलमा पुगेर औपचारिक कार्यक्रमका साथ सम्पन्न भयो। र्यालीमा अपाङ्गता भएका व्यक्तिहरू, उनीहरूको अभिभावक, स्थानीय समुदायका प्रतिनिधिहरू, र विभिन्न संघसंस्थाका सदस्यहरूको उत्साहपूर्ण सहभागिता रहेको थियो।
औपचारिक कार्यक्रमको अध्यक्षता कचनकवल अपाङ्ग संस्थाका अध्यक्ष डम्बरबहादुर रिमालले गरेका थिए भने प्रमुख अतिथिका रूपमा वडा नम्बर ६ की वडा सदस्य बबिता काफ्ले सहभागी थिइन्। कार्यक्रममा स्थानीय नेतृत्व, गैरसरकारी संस्था, र समुदायका व्यक्तिहरूले अपाङ्गता भएका व्यक्तिहरूको हकहित र अधिकारका लागि आफ्नो प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका अध्यक्ष रिमालले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा समान दृष्टिकोणले हेर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “हाम्रो हक, अधिकार, र आवश्यकतालाई स्थानीय, प्रदेश, र केन्द्र सरकारसम्म पुर्याउनका लागि यो दिवस महत्त्वपूर्ण छ। अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउन, रोजगारीका अवसरहरू उपलब्ध गराउन, र समावेशी समाजको निर्माणका लागि सबै क्षेत्रबाट सहयोग अपेक्षित छ।”
उनले स्थानीय सरकारलाई अपाङ्गता भएका व्यक्तिहरूका लागि कार्यालय उपलब्ध गराउन र संस्थाहरूलाई थप सशक्त बनाउँदै रोजगारीका अवसर सिर्जना गर्न आग्रह गरे।
कार्यक्रमका क्रममा अपाङ्गता भएका व्यक्तिहरुका संस्थालाई हेल्प डेस्क स्थापनका लागि LWFको आर्थिक सहयोग र SNJDको सहजीकरणमा अपाङ्ग संस्थालाई कार्यालय सञ्चालनका लागि आवश्यक सामग्री हस्तान्तरण गरिएको छ। सामग्रीमा १ थान दराज, १ थान अफिस टेबल, १३ मिटर कार्पेट, १ थान ह्वाइट बोर्ड, २० थान कुर्सी, र १ थान अफिस चेयर समावेश थिए। यो सहयोगले अपाङ्गता भएका व्यक्तिहरूका लागि थप सुविधा र सहजताका साथ काम गर्ने वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा सहभागी स्थानीयवासीले अपाङ्गता भएका व्यक्तिहरूलाई समाजमा समावेशी बनाउने र उनीहरूको जीवनस्तर सुधार गर्न दिवसले महत्त्वपूर्ण भूमिका खेलेको बताए।