कचनकवल। सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वाटर झापाको आयोजनामा तथा कचनकवल गाउँपालिकाको सहकार्यमा सञ्चालित “समुदाय विपद् स्वयंसेवक तालिम” बिहीबार सम्पन्न भएको छ। जेठ ३० गतेदेखि कचनाकवल २ सुकुनाडिगीस्थित सामुदायिक भवनमा सुरु भएको तालिम २१ दिनसम्म सञ्चालन गरिएको हो।
कचनकवल ५ स्थित मेची नदिमा सञ्चालन भएको समापन समारोहको अध्यक्षता गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजबंशीले गर्नुभयो।
कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनीका बाहिनिपति तथा प्रमुख अतिथि सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपद् व्यवस्थापन समिति झापाका अध्यक्ष गोपाल कुमार अधिकारी, निवर्तमान प्रदेशसभा सदस्य वसन्त कुमार बानियाँ, उपाध्यक्ष नवराज भट्टराईलगायतको उपस्थिति रहेको थियो।

तालिममा सहभागी २१ जना प्रशिक्षार्थीले विपद् व्यवस्थापनसम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक सीप प्राप्त गरेका छन्। प्रशिक्षार्थीहरूले जलजन्य विपद् व्यवस्थापन, आगलागी नियन्त्रण र प्राथमिक उपचारसम्बन्धी उद्धार अभ्यास प्रस्तुत गरेका थिए।

समापन अवसरमा प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने तालिम सञ्चालनमा योगदान पुर्याएका प्रशिक्षकहरूलाई गाउँपालिकाको तर्फबाट प्रशंसा पत्र प्रदान गरिएको थियो।
विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी अधिकारीले यस्ता तालिमहरू विपद् जोखिम न्यूनिकरण र प्रारम्भिक क्षमताविकासमा अत्यन्त प्रभावकारी हुने बताउनुभयो। उहाँले झापाका अन्य पालिकामा पनि यस्ता तालिमको आवश्यकतामा जोड दिँदै सहभागीहरूलाई बधाई तथा शुभकामना दिनुभयो।
सशस्त्र प्रहरी नायव महानिरीक्षक न्यौपानेले समुदायस्तरमै विपद् व्यवस्थापनको चेतना अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै यस्तो तालिमले आपत्कालीन अवस्थामा स्थानीयवासीहरूलाई पहिलो सहायकको भूमिकामा उभ्याउने बताए।
कार्यक्रम अध्यक्ष राजबंशीले तालिमले समुदायमा विपद् सामना गर्न सक्ने आत्मविश्वास जगाएको उल्लेख गर्दै सुरक्षाकर्मी र स्थानीय समुदायबीचको सहकार्य अझ सशक्त बनाउने विश्वास व्यक्त गर्नुभयो।