बनियानी, भदौ ५ । कचनकवल गाउँपालिकाले सडक अतिक्रमण गरी निर्माण गरिएका अस्थायी संरचना हटाउन ७ दिने सूचना जारी गरेको छ।
गाउँपालिकाले वडा नं. ४ अन्तर्गत कचनकवल रिङ्गरोडको पोक्लावानदेखि दक्षिणतर्फ कचनकवल स्तम्भसम्म कालोपत्रे गर्ने तयारी भइरहेको भन्दै उक्त सडक क्षेत्रमा रहेका टहरा, पसल, छाप्रोलगायत अस्थायी संरचना हटाउन अनुरोध गरेको हो।
गाउँपालिकाले सूचना सार्वजनिक गर्दै तोकिएको समयसीमा भित्र संरचना नहटाए कानुन बमोजिम बल प्रयोग गरी हटाइने र त्यसको खर्च सम्बन्धित व्यक्तिबाट सरकारी बाँकी सरह असुल गरिने चेतावनी दिएको छ।
यसअघि पनि सडक क्षेत्र अतिक्रमणले विकास तथा निर्माण कार्यमा बाधा पुर्याउने गरेको गुनासो स्थानीय स्तरमा उठ्दै आएको छ।
