कचनकवलमा हात्तीबाट जोगिन बसाइ सर्नेको लर्को

 कचनकवल।  कचनकवल गाउँपालिकामा हात्ती आक्रमणबाट ज्यान जोगाउनका लागि बसाइ सर्नेको सङ्ख्या बढ्न थालेको छ ।  दैनिक आउने जङ्गली हात्तीबाट जनधनको क्षति हुन थालेपछि स्थानीय बसाइ सर्न थालेका हुन् । पालिकामा चार वर्षको अवधिमा एक हजार छ सय आठ घर परिवार बसाइ सरेर पालिकाभन्दा अन्यत्र स्थानमा गएको पालिकाको तथ्याङ्कमा उल्लेख गरिएको छ । 

कचनकवल–१ घेराबारी निवासी ५५ वर्षीया सीता सुवेदीले हात्तीले पटकपटक घर भत्काएर अन्नबाली खाएपछि आफ्नो परिवार बसाइ सर्न बाध्य भएको बताइन् । हाल उनको परिवार गत जेठमा हात्तीले घर भत्काएर भण्डारण गरेको अन्नबालीसमेत खाइदिएपछि कमल गाउँपालिका–६ मङ्गलबारे डेरा गरेर बसेको छ । 

EPIC EPIC EPIC

“दुःख गरेर घर बनायो वर्ष दिन नपुग्दै हात्तीले भत्काइदिन्छ”, उनले भनिन्, “धेरैपटक घर भत्काएपछि हामीलाई पनि कुन दिन सुतेकै ठाउँमा मार्छ होला भन्ने भयो, अब नहुने रहेछ भन्ने लागेर ज्यान जोगाउनकै लागि बसाइ सर्यौं ।” चार दशकदेखि सो स्थानमा बसोबास गर्दै आएको सुवेदी परिवार हात्तीबाट ज्यान जोगाउन बसाइ सरेको हो । 

उनका अनुसार दिनभर जलथल जङ्गलमा बस्ने जङ्गली हात्ती साँझ नपर्दै दैनिक गाउँ पसेर आतङ्क मच्चाउन थालेपछि बाध्य भएर सुवेदी परिवारलगायत अन्य स्थानीय पनि सुरक्षित स्थानमा बसाइ सर्न थालेका हुन् । हाल कचनकवलका वडा नं १, २ र ३ बाट बसाइ सर्नेको सङ्ख्या बढिरहेको छ । 

पालिकाका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखाका प्रमुख खेमराज भट्टराईले प्रत्येक वर्ष अन्य स्थानबाट आउनेको तुलनामा तेब्बर सङ्ख्या बसाइ सरेर अन्यत्र गइरहेको जानकारी दिए । उनले चार वर्षको अवधिमा अन्य स्थानबाट बसाइ सरेर आउनेको सङ्ख्या सात सय ५९ रहेको र जानेको सङ्ख्या एक हजार छ सय आठ रहेको बताए ।

उनले विसंं २०७७ मा चार सय २६, २०७८ मा चार सय ४६, २०७९ मा चार सय ३० र २०८० को हालसम्ममा तीन सय छ परिवार पालिकाबाट बसाइ सरेर अन्य स्थानमा गएको जानकारी दिए । यस क्षेत्रबाट मानिसहरु विर्तामोड, दमक, चारआली, बुधबारेलगायतका क्षेत्रमा बसाइ सरेर गएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *