कचनकवल, भदौ २९ । देशभर जारी जेनजी आन्दोलनका क्रममा भएको व्यापक मानवीय र भौतिक क्षतिको पृष्ठभूमिमा कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले सम्पूर्ण कचनकवलवासीमा धैर्य, एकता र संयम अपनाउन अपिल गरेका छन्। आन्दोलनले मुलुकभर ठूलो मानवीय क्षति पुर्याउनुका साथै प्रशासनिक संरचना, निजी सम्पत्ति, कलकारखाना र व्यापारी भवनहरूमा समेत अकल्पनीय क्षति पुगेको छ। यस क्रममा कचनकवल गाउँपालिकाको प्रशासनिक भवन र वडा कार्यालयहरू समेत पूर्ण रूपमा ध्वस्त भएका छन्।
उपाध्यक्ष भट्टराईले विज्ञप्ति जारी गर्दै आन्दोलनमा शहीद भएका जेनजी युवाहरू, सुरक्षाकर्मी तथा अन्य मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै, शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
विज्ञप्तिमा उपाध्यक्ष भट्टराईले उल्लेख गरेका छन्, “युवाले उठाएको राजनीतिक, सामाजिक परिवर्तन र विधिको शासन स्थापित गर्दै न्यायपूर्ण समाज निर्माण गर्ने अभियानमा म आफैं आत्मसमीक्षा गर्दै सबैसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछु। पालिकामा जनप्रतिनिधिको भूमिका निर्वाह गर्दा कतै कमजोरी भए आत्मआलोचना गर्दै आगामी दिनमा जनभावनाविपरीत कुनै कदम नचाल्ने प्रतिज्ञा गर्दछु।”
उनले सबै कचनकवलवासीलाई धैर्य र संयम अपनाउन, सामाजिक एकता र सद्भाव कायम राख्न आग्रह गरेका छन्। सुरक्षा संयन्त्र कमजोर भएको वर्तमान अवस्थामा समाज र नागरिकहरूको सुरक्षामा सबैको जिम्मेवारी रहेको भन्दै भट्टराईले विधिको शासन र लोकतान्त्रिक व्यवस्थाको जगमा अघि बढ्नुपर्नेमा जोड दिए छन्।
लोकतान्त्रिक अभ्यास अन्तर्गत निर्वाचन नै जनताको सर्वोच्च मूल्याङ्कन प्रणाली भएको उल्लेख गर्दै उनले सबै राजनीतिक दल, नागरिक समाज, युवा पुस्ता र स्वतन्त्र नागरिकलाई साझा उद्देश्यतर्फ अघि बढ्न आह्वान गरेका छन्।
यसैबीच, लगातारको वर्षाका कारण होचो भूभागमा पर्ने बाढी जोखिमबाट सचेत रहन र आपत्कालीन अवस्थामा सहयोगका लागि तयारी अवस्थामा रहन पनि उनले कचनकवलवासीलाई अनुरोध गरेका छन्।
“विचलित नहुनुहोस्, हामी छिट्टै प्रशासनिक संरचना सञ्चालनमा ल्याउनेछौं,” उपाध्यक्ष भट्टराईले विश्वास दिलाएका छन्।