कचनकवल। कचनकवल गाउँपालिकाले राष्ट्रिय भवन संहिता लागू गर्ने निर्णय गरेको छ। गाउँपालिकाले मिति २०८१/०४/०१ देखि नयाँ भवन संहिता लागू गर्ने घोषणा गरेको छ, जसले भवन निर्माणको अनुमति, अनुगमन, र नियमनका कार्यहरूलाई थप व्यवस्थित र सुरक्षित बनाउने अपेक्षा गरिएको छ।
भवन ऐन २०५५ को दफा ९ को उपदफा (१) बमोजिम सहरी विकास मन्त्रालयबाट स्वीकृत २३ वटा राष्ट्रिय भवन संहिताका खण्डहरू लागू भईरहेका छन्। हालै, मिति २०८१/०१/३० मा सहरी विकास मन्त्रालयबाट परिमार्जित गरी स्वीकृत भएको नयाँ राष्ट्रिय भवन संहिता नेपाल राजपत्रमा मिति २०८१/०२/२८ मा प्रकाशित भएको थियो। सोही अनुसार, कचनकवल गाउँपालिकाले मिति २०८१/०४/०१ देखि दर्ता हुने भवन नक्सामा यी परिमार्जित संहिताहरू पूर्णरूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ।
यस निर्णय अनुसार, पुराना भवन संहिताका खण्डहरू NBC 105: 1994 र NBC 205: 1994 (reinforced concrete buildings without masonry infill) लाई खारेज गरिनेछ। यसका सट्टामा नयाँ परिमार्जित संहिताहरू, NBC 105: 2020 (seismic design of buildings in Nepal) र NBC 205: 2024 (detailing guideline for low-rise reinforced concrete buildings with infill), पूर्णरूपमा लागू गरिनेछ।