कचनकवल। कचनकवल गाउँपालिकाले संघीय सरकारको खर्च कटौती सम्बन्धी निर्देशनका कारण स्वास्थ्य बीमा शुल्क र विद्युत महसुल भुक्तानीजस्ता वितरणमुखी कार्यक्रमहरू स्थगन गर्ने निर्णय गरेको छ।
गाउँपालिकाको पत्र संख्या २०८२/०८३ अनुसार नेपाल सरकारको अर्थ मन्त्रालयको असोज ७ को पत्र र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति असोज ८ गतेको खर्च कटौतीसम्बन्धी पत्राचारका आधारमा यो निर्णय गरिएको हो।
उक्त निर्देशनअनुसार ग्याँस, साइकल, स्वास्थ्य बीमा शुल्क, विद्युत महसुल भुक्तानी, ह्याण्डपम्प, साडी वितरणजस्ता वितरणमुखी कार्यक्रमहरू सञ्चालन गर्न नपाइने उल्लेख गरिएको छ। त्यसअनुसार गाउँपालिकाले पनि हाल सञ्चालनमा रहेका कार्यक्रमहरू अर्को व्यवस्था नहुँदासम्मका लागि स्थगित गर्ने जनाएको छ।
गाउँपालिकाले विशेष रूपमा स्वास्थ्य बीमा सम्बन्धी अनुदान र डिप बोरिङ विद्युत महसुल भुक्तानी अनुदान अस्थायी रूपमा रोकिएको जनाएको छ।
गाउँपालिकाले यस निर्णयका कारण स्थानीयवासीलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै, परिस्थिति सामान्य बनेपछि कार्यक्रम पुनः सञ्चालन गरिने जनाएको छ।




















