कचनकवल। दक्षिणी झापाको कचनकवल गाउँपालिकको १, २, ३ नम्बर वडाले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका छन्।

साबिक घेराबारी र पथरीया गाविसमा परेका १,२ र ३ का सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिक तथा अपांग नागरिकलाई मध्यनजर गर्दै बैंकसँगको सहकार्यमा वडामै बैंकका कर्मचारी राखेर भत्ता वितरण गर्ने गरेको वडा नम्बर १ का वडा अध्यक्ष महावीर लिम्बू (रन्जित)ले बताए।

उनका अनुसार करिब दसदेखि तेह्र किलोमिटर टाढा बनियानी बजारमा बैंकहरु रहेको र त्यहाँ वडा बासीले पटकपटक सास्ती खेप्नु परेकाले उनीहरुको भत्ता वडा कार्यालयमा बैंक कर्मचारी मार्फत वितरण गर्ने व्यवस्था मिलाइएको छ।
प्रत्येक तीनतीन महिनामा नेपाल सरकारले दिने व्यवस्था अनुसार कचनकवल एकमा मात्रै ७ सय जनाले ६५ लाख बराबरको भत्ता लिने गरेको वडा अध्यक्ष लिम्बूले बताए।



















