बनियानी। कचनकवल गाउँपालिका–१ कुटि पूर्व रहेको अदुवा खोलाको कच्ची काठेपुल जीर्ण हुँदा स्थानीय आवतजावतमा समस्या उत्पन्न भएपछि पुल पुनर्निर्माणको माग गर्दै गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशीलाई माओवादी केन्द्रले ध्यानाकर्षण पत्र बुझाएको छ।
झण्डै २२ वर्षअघि निर्माण भएको उक्त काठेपुल पाठामारी, बनियानी, आमबारी, डाँगीबारी, कालियागञ्ज हुँदै कुटिसम्मका स्थानीय बासिन्दाहरूको प्रमुख आवागमन मार्गको रूपमा प्रयोग हुँदै आएको छ। तर हाल पुल जीर्ण भएर आवतजावतमा अत्यधिक कठिनाइ भइरहेको जनाइएको छ।
वर्खायाममा जोखिम अझै बढ्ने भएकाले विद्यार्थी, मजदुर, किसान, वृद्धवृद्धा र सर्वसाधारणलाई अत्यावश्यक काममा समेत असहजता भइरहेको जनाउँदै तत्काल स्थायी पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्न माग गरिएको छ।
उक्त ध्यानाकर्षण पत्र नेकपा माओवादी केन्द्र कचनकवल गाउँ कमिटीका अध्यक्ष किरण लिम्बूको नेतृत्वमा आज गाउँपालिका अध्यक्ष राजवंशीलाई बुझाइएको हो।
स्थानीय जनताको जीवनसँग प्रत्यक्ष जोडिएको विषयमा सरोकारवालाले चासो देखाएर चाँडो समाधानका लागि पहल गर्नुपर्ने स्थानीयको माग छ।