कञ्चनजङ्घा हिमाल र रेडपाण्डा हेर्न माईजोगमाईमा पर्यटकको ओइरो

इलाम। विगतका वर्षहरूमा न्यून सङ्ख्यामा पर्यटक देखिने इलामको माईजोगमाईमा यतिबेला आन्तरिक तथा विदेशी पर्यटकको उल्लेख्य उपस्थिति देखिन थालेको छ। कोशी प्रदेश सरकारले फिक्कल–नयाँबजार सडक (२० किलोमिटर) कालोपत्र गरेपछि यातायात सुविधाजनक बनेको र त्यसको सकारात्मक असर पर्यटन क्षेत्रमा देखिएको हो।

माईजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबेले जानकारी दिनुहुँदै भन्नुभयो, “माईजोगमाई–२ स्थित तुम्लिङबाट विगतमा पनि विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल देखिन्थ्यो तर सडक पहुँचको अभावले पर्यटकको आवागमन न्यून थियो। अहिले सूर्योदय नगरपालिका–९ बरबोटेदेखि नयाँबजारसम्मको सडक स्तरोन्नतिपछि यहाँका पर्यटकीय स्थलमा पर्यटकको बाक्लो उपस्थिति देखिएको छ।”

EPIC EPIC EPIC EPIC EPIC

समुद्री सतहदेखि ३,१०० मिटर उचाइमा अवस्थित तुम्लिङमा पर्यटक कञ्चनजङ्घाको हिमाली दृश्यावलोकन गर्न घुइँचो लागिरहेका छन्। झापाबाट आएका आन्तरिक पर्यटक टीकाराम बाँस्तोलाले भने, “पहिले सडक नभएकाले आउन कठिन थियो, अहिले मेची राजमार्ग हुँदै एक घण्टामै आइपुगिन्छ। यहाँ घुम्ने ठाउँ प्रशस्त छन्। चिसो हावाको स्पर्शसहित हिमालको दृश्य मन छुने खालको छ।”

तुम्लिङका साथै नयाँबजार, थुम्के, मेग्मा, जौबारी, कालपोखरीलगायत माईजोगमाई र इलामका उत्तरी भेगका अन्य लेकाली क्षेत्र नेपाल–भारत सीमामा पर्ने प्रमुख पर्यटकीय गन्तव्य बनेका छन्। यी क्षेत्र हिमाल दृश्यावलोकन, झुल्के घाम, दुर्लभ वन्यजन्तु रेडपाण्डा र औषधीय जडीबुटीका लागि प्रसिद्ध छन्।

“यस क्षेत्रमा भारत, भुटान, बङ्गलादेशलगायत देशबाट पनि खोज, अनुसन्धान तथा अवलोकनका लागि पर्यटक आउन थालेका छन्,” अध्यक्ष थेबेले जानकारी दिनुभयो।

पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाले हालै ‘टुरिज्म एप’ सार्वजनिक गरेको छ। उपाध्यक्ष प्रवीना राईका अनुसार एपमार्फत माईजोगमाईका प्रमुख पर्यटकीय स्थलहरूको विवरण, कृषि, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाबारे जानकारी प्राप्त गर्न सकिन्छ।

नयाँबजारबाट थुम्केरानी, जौबारी, तुम्लिङ, टङ्लु, मेग्मासम्मको पदयात्रा, जंगल सफारी, रेडपाण्डाको अवलोकन तथा एसियाकै दोस्रो पुरानो मानिने मेग्मा गुम्बाको भ्रमण पर्यटकका लागि आकर्षक बनेको पर्यटन व्यवसायी देवी अधिकारीले जानकारी दिनुभयो।

हाल माईजोगमाई–२ र ६ को सङ्गमस्थलमा पर्ने थुम्के डाँडामा पर्यटकको उल्लेख्य चहलपहल देखिएको छ। जैविक विविधता, हिमाली सौन्दर्य र भौगोलिक विशिष्टताले भरिएको माईजोगमाई अब ओझेलबाट बाहिरिँदै पर्यटकीय केन्द्र बन्दै गएको देखिन्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *