Search
Close this search box.
Search
Close this search box.

कतै पिरा, गुन्द्री कतै दुई कार्यालयबाट सेवा

सर्वसाधारण जनतालाई सेवा दिन स्थानीय तहले आआफ्नै शैली अपनाएका छन् । कुनै शैली अलि अचम्मलाग्दा छन् त कुनै ज्यादै व्यावहारिक पनि । जनस्तरमा सेवा प्रदान गर्ने झापा र स्याङ्जाका दुई वडाले गरेका कार्य त्यस्तै उदाहरणीय छन् ।

झापाको मेचीनगर नगरपालिका वडा नम्बर ४ का निर्वाचित प्रतिनिधि कुर्सीमा बस्दैनन्; पिरा र गुन्द्रीमा बसेर काम गर्छन् । उनीहरू मात्र होइन, जोसुकै विशिष्ट व्यक्ति आए पनि गुन्द्री वा पिरामा नै बसाइन्छ ।

EPIC

मेचीनगर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष अर्जुन कार्कीले दुई वर्षअघि वडाध्यक्ष जितेर आएपछि आफ्नो कार्यकक्षमा रहेका कुर्सी तथा अन्य टेबल सबै हटाउनुभएको हो । उहाँको कार्यलाई वडा सदस्यहरूले पनि व्यवहारमा लागु गरेका छन् । वडाध्यक्ष कार्कीले भन्नुभयो, “ग्रामीण क्षेत्रका जनताको सेवा गर्दा आफू चाहिँ कुर्सीमा उपरखुट्टी लगाएर बस्नुहुँदैन भन्ने सोच राखेको थिएँ । गुन्द्रीमा बसेर सेवा प्रदान गर्दा र नागरिकका कुरा सुन्दा धेरै नै आनन्द हुन्छ ।” 

उता स्याङ्जाको भिरकोट नगरपालिका वडा नं. ८ मा भने दुई वटा बेग्लाबेग्लै वडा कार्यालय स्थापना गरेर साताका छ कार्यदिनमा तीन दिन एउटा र तीन दिन अर्को कार्यालयबाट सेवा प्रदान गर्ने गरिएको छ ।

पुरानो वडा कार्यालय मोहनडाँडाबाट सबै वडावासीलाई आवश्यक सेवा छिटोछरितो गरी दिन नसकेपछि ढापुक, जामुनेडाँडा वडा कार्यालय स्थापना गरिएको हो । आइतबारदेखि मङ्गलबारसम्म जामुनेडाँडाको वडा कार्यालय र बुधबारदेखि शुक्रबारसम्म मोहनडाँडामा रहेको वडा कार्यालयबाट सेवा दिने गरिएको छ ।

वडाध्यक्ष नन्दलाल खनालले भौगोलिक हिसाबले वडा ठुलो तथा जनसङ्ख्या पनि धेरै भएपछि वडालाई विभाजन गरेर दुई ठाउँबाट सेवा दिन थालेको बताउनुभयो । उहाँले नियम कानुनले जे भने पनि सबैलाई पायक पर्ने ठाउँमा वडा कार्यालय नभएपछि नागरिकको सहजताका लागि दुई ठाउँमा वडा कार्यालय स्थापना गरी सेवा दिँदै आएको बताउनुभयो ।

यहाँका जनप्रतिनिधि तथा कर्मचारी हप्ताको तीन दिन जामुनेडाँडामा र तीन दिन मोहनडाँडामा रहेको वडा कार्यालयमा गएर सेवा दिने गरेका छन् । जामुनेडाँडाको वडा कार्यालय बनेसँगै सिरुखर्क, जोइथुम, खोरबार, कालिका टोल, छाप, सालिकोस, दुम्सेखोला, बडरेका नागरिकलाई सहज बनेको छ । 

सुरुमा केही अन्योल भए पनि अहिले भने सेवाग्राहीलाई समस्या नरहेको बताउँदै उहाँले १८ वटा टोल रहेकामा नौ÷नौ वटा टोलले दुई वटा वडाबाट सेवा लिने गरेको बताउनुभयो । ‘हरेक टोल हरेक बस्ती, महिनैपिच्छे हाम्रो उपस्थिति’ भन्ने नारा नै लिएर निर्वाचनमा जनतासँग गरेका वाचा पूरा गरेको खनालले बताउनुभयो । वडाको सबैभन्दा विकट रहेको सिरुखर्कबाट मोहनडाँडा आउन पैदल चार घण्टा र कुनै बेला जिप पाउँदा दुई घण्टा लाग्ने गरेको थियो । सिरुखर्कका ६५ वर्षीय नेत्रबहादुर गुरुङले वडाको सामान्य सिफारिसका लागि दिनभर बिताउनुपर्नेमा अहिले दुई घण्टामै काम हुँदा खुसी लागेको बताउनुभयो । 

कालिका टोलका ६७ वर्षीय भीमबहादुर गुरुङले दुई ठाउँबाट सेवा पाएपछि लामो समय खर्च गरेर मोहनडाँडा वडा कार्यालयसम्म पुग्नुपर्ने बाध्यता हटेको बताउनुभयो । जोइथुम, सिरुखर्कका बासिन्दा रातै काटेर सेवा लिनुपर्ने अवस्था रहेकोमा अहिलेका जनप्रतिनिधिले साँच्चै दुःख बुझेको उहाँले बताउनुभयो । 

साबिक ढापुक सिमल भन्ज्याङ गाविसलाई विभाजन नगरी बनाइएको वडा नं. ८ नगरपालिकाको सबैभन्दा ठुलो वडा हो । यस वडामा छ हजार ७५५ जनाको बसोवास छ । ११ स्थानीय तह र ९७ वडा रहेको स्याङ्जामा दुई ठाउँ वडा कार्यालय बनाएर सेवा दिने एक मात्र वडा हो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *