कनकाई— जनकल्याण समाज दुर्गापुर, कनकाई–७ को आयोजनामा लागूऔषध तथा सुर्तिजन्य पदार्थ विरुद्धको एकदिने सचेतना कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम जनकल्याण समाजको सभाहलमा आयोजना गरिएको थियो।
उक्त कार्यक्रममा संस्थाका अध्यक्ष तथा पूर्व वडा अध्यक्ष लिला बहादुर कदङ्वाको अध्यक्षता रहँदा कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्र पोखरेल प्रमुख अतिथि रहनुभएको थियो। वडा नं. ७ का वडा अध्यक्ष भीष्म भूषण सिटौला, वडा सदस्य सावित्रा सार्की, संस्थाका सदस्य एवम् वडा सदस्य निर्मल आङ्थोपु, चेतना नेपालकी प्रशिक्षक कल्पना भट्टराईलगायत स्थानीय संघसंस्थाका प्रतिनिधिहरू, प्रतिष्ठित व्यक्तित्वहरू र नागरिक समाजका अगुवाहरूको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवातमा सदस्य निर्मल आङ्थोपुले स्वागत मन्तव्य दिँदै कार्यक्रमको उद्देश्य र आवश्यकतामाथि प्रकाश पार्नुभएको थियो।
प्रशिक्षण सत्रमा चेतना नेपालकी प्रशिक्षक कल्पना भट्टराईले सुर्तिजन्य, मदिराजन्य तथा लागू औषधको दुष्प्रभाव, यसको सामाजिक र मानसिक असरबारे विस्तृत रुपमा जानकारी दिनुभयो। उहाँले दुर्व्यसनको न्यूनीकरण तथा नियन्त्रणका लागि समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै, सम्बन्धित ऐन, नियम तथा कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
प्रमुख अतिथि नगरप्रमुख पोखरेलले किशोर-किशोरीहरूमा दुर्व्यसन बढ्दो दरले फैलिन थालेको भन्दै अभिभावकदेखि विद्यालय, समुदायसम्म सबै तहको सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले चेतना नेपालको प्राविधिक सहयोगमा नगरले विगतका वर्षहरूदेखि सञ्चालन गर्दै आएको कार्यक्रमले केही प्रभाव पारेको भए पनि दीर्घकालीन समाधानका लागि अझ ठोस पहल आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।
वडा अध्यक्ष भीष्म भूषण सिटौलाले दुर्व्यसन आजको साझा चुनौती भएको भन्दै सबै सरोकारवालाहरू मिलेर यस विरुद्धको अभियानमा जुट्न आग्रह गर्नुभयो।
कार्यक्रम सञ्चालन संस्थाका सचिव हार्क लुहागुनले गर्नुभएको थियो। सभापति लिला बहादुर कदङ्वाले प्रशिक्षक, अतिथिहरू र सहभागी सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो।
स्थानियवासीको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा सहभागीहरूले यस्ता सचेतना अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए।