शिवसताक्षी । पूर्वको प्रसिद्ध कनकाई माइमेलाको आज विधिवत उद्घाटन गरिएको छ । शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कनकाई माइमेलाको शान्तिको रिवन काटेर उद्घाटन गरिएको हो ।
शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाहाङ्फेले रिवन काटेर उद्घाटन गरेका हुन् । उद्घाटनका क्रममा शान्तिका दुत परेवा उढाइएको थियो भने, केक पनि काटिएको थियो ।
उद्घाटनका क्रममा नगरप्रमुख मेगाहाङ्ग थोप्राले बर्षैदेखि लाग्दै आएको माइमेला कोरोना संक्रमणका बेला रोकिए पनि पछिल्लो समय लाग्दै आएको जानकारी दिए । आफु सानो हुँदा मेला ठुलो लाग्ने गरेको सम्झदै उनले नगरपालिकाले यस वर्षदेखि आफै मेला सञ्चालन गरेर धेरै व्यापारीहरु भित्र्याउने गरी काम गरेको बताए ।
यस वर्षदेखि पर्यटकीय क्षेत्र दोमुखामा पनि सधँै वर्षहरु भन्दा धेरै मात्रामा पर्यटकहरु आउन थालेका छन् । उनले भने, अब नगरपालिकाले आयोजना गर्ने हरेक पर्यटकीय क्षेत्र र मेलाहरुमा व्यापारीहरु सहजता दिदै धेरै मात्रामा पर्यटक भित्रिने गरी काम गर्दै जाने छौ ।
यसले शिवसताक्षी नगरको विकास र आय श्रोतमा टेवा पुग्ने अपेक्षा गरिएको छ । हामीसँग त्रिधाम छन् । सताक्षीधाम, दोमुखा, चिल्लागढ र यो मेला लाग्ने स्थान माइधाम यसलाई पनि विकास गरी पर्यटक भित्र्याउन सकिन्छ ।
उद्घाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष हर्क सिगुले मेलामा आउने मानिसहरुले सडकमा भिडभाड हुने भएकाले सडक पेटीमा खाली गरेको बताए । यस वर्ष मेलामा सडकको किनारमा कसैले पनि पसल राख्ने छैन । सडकमा पसल राख्ने व्यापारीहरुलाई मेला स्थलमै व्यवस्थापन गरिएको छ ।
अध्यक्ष सिगुले विगत वर्षहरुमा स्वयमसेवकको रुपमा खटिने भाइहरुले पिङ, सर्कस लगायत खेलाहरुमा फ्रिमा खेल्ने गरेर व्यापारिहरुलाई मार्का परेकाले यस वर्ष कुनै पनि स्वयसेवक नराखिएको बताए । वडाले अनुगमन समिति गठन गरेको त्यस समितिले कडा अनुगमन गर्छ । वडा नम्बर १० नागरिक सबै स्वयसेवक हुन् । मेलामा खाने पानी, विजुली, शौचालय, रेडक्रस, एम्बुलेन्सको व्यवस्था गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ। प्राथमिक उपचारका लागि स्वस्थ्य टोलीले मेला अवधिभर निशुल्क सेवा दिने व्यवस्था मिलाइएको वडाध्क्ष सिगुको भनाई छ ।
उद्घाटन कार्यक्रममा पश्चिात जनप्रतिनिधि तथा कर्मचारीहरुले एक पटकका लागि उद्घाटनमा आएका मानिसहरुलाई फ्रिमा खेलाइएको थियो ।
कार्यक्रममा नगर उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिता तुम्बाङफेलगायतले मेला सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन वडा सदस्य दिपक पोख्रेलले गरेका थिए ।