काठमाडौँ । युवापुस्ताका चर्चित ‘कमेडियन’ मेक्सम गौडेल अस्वस्थ भएपछि अहिले भारतको दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराइरहेका छन्। उनको प्याङ्क्रियाजमा घाउ देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको हो।
कमेडियन सुमन कार्कीले सामाजिक सञ्जालमार्फत मेक्समको अस्पताल भर्ना भएको जानकारी दिएका छन्। ‘कमेडी नाइट विथ च्याम्पियन्स’ का निर्देशक विशाल भण्डारीले पनि गौडेल पहिलेदेखि त्यहाँ फलोअप उपचार गराइरहेको बताएका छन्।
गौडेल दुई महिनादेखि प्याङ्क्रियाज सम्बन्धी समस्याबाट पीडित छन्। यसअघि उनले काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार गराएका थिए। ‘कमेडी नाइट विथ च्याम्पियन्स’मा चार एपिसोड गरेपछि उनी बिरामी भएका थिए।
‘कमेडी च्याम्पियन’बाट उदाएका मेक्सम गौडेलले ‘छक्कापञ्जा ५’ र ‘फेरि रेशम फिलिली’मा पनि अभिनय गरेका छन्। उनका सहकर्मीहरु, जस्तै सुमन कार्कीले सामाजिक सञ्जालमार्फत उनलाई छिट्टै स्वस्थ भएर स्टेजमा फर्किनुपर्ने कामना गरेका छन्।