काठमाडौं- नेपाल एयरलाइन्सले सञ्चालन मुनाफामा गएपछि एक वर्षको अवधिमा २ अर्ब ९४ करोड बढी सावाँ ब्याज भुक्तानी गरेको जनाएको छ ।
नेपाल वायुसेवा निगमको तर्फबाट प्रवक्त रमेश पौडेलद्वारा जारी विज्ञप्ति अनुसार निगमले २०७९ साल असारयता २ अर्ब ९४ करोड २८ लाख रुपैयाँ सावाँ – ब्याज चुक्ता गरेको हो ।
विज्ञप्तिमा जनाइए अनुसार गत असारमा १ अर्ब ३५ करोड, असोजमा ७३ करोड ९ लाख ५५ हजार २८१, पुसमा ३३ करोड ९ लाख ५५ हजार २८१ र चैतमा ५३ करोड ९ लाख ५५ हजार २८१ गरी २ अर्ब ९४ करोड २८ लाख ६४ हजार ८४४ रुपैयाँ भुक्तानी गरेको छ ।
निगम अहिले मुनाफामा सञ्चालनमा रहँदा उडान र ग्राउण्ड ह्याण्डलिङबाट कमाई राम्रो गरिरहेकोले ऋणको सावाँ – व्याज तिर्न सक्षम भइरहेको हो ।
निगमले अहिले दुई न्यारो बडी र दुई वाइड बडी विमान खरिद गर्दा लिएको कर्जा चुक्ता गर्दै आएको छ ।
विश्व व्यापीरुपमा फैलिएको कोरोना महामारीले कन्तविजोग अवस्थामा पुगेको निगम अहिले सुखद चरणमा फर्कने प्रयासमा छ।
कोरोना महामारीका कारण व्यापारमा ठूलो असर पर्दा कुनै पनि व्यवसायिक गतिविधि नभएको भन्दै निगमले उक्त अवधिको ब्याज, हर्जाना र पेनाल्टी छुट एवं किस्ताको संख्या वृद्धि नगरी कर्जा भुक्तानीलाई सहज बनाइदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध गरेको पनि जारी विज्ञप्तिमा उल्लेख छ