बुद्धशान्ति। कर्णाली एजुकेसन फाउन्डेसनले कात्तिक २४ गते स्वागत तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।
विद्यालयका प्रबन्ध निर्देशक छत्रबहादुर कार्कीको अध्यक्ष्यतामा आयोजित कार्यक्रममा कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई स्वागत तथा कक्षा १२ को अध्ययन पूरा गरेका विद्यार्थीलाई बिदाइ गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका शिक्षा शाखा प्रमुख कमल निरौलाले कर्णाली एजुकेसन फाउन्डेसन झापाको उत्कृष्ट शैक्षिक संस्था रहेको स्मरण गराए । अध्ययन गर्ने क्रममा कहिले सफलता र कहिले असफलता हुने जनाउँदै प्रमुख अतिथि निरौलाले विद्यार्थीले हार नमानी अघि बढ्न सुझाए । एक पटकको असफलतामै आत्तिनु नहुने भन्दै उनले पटक पटक प्रयास गर्न विद्यार्थीलाई सुझाव दिए ।

त्यस्तै विशिष्ट अतिथि सीता रमेश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख पुष्प रिजालले आफूले कर्णालीलाई नजिकबाट नियालेको बताउँदै यहाँको शैक्षिक गुणस्तर अतुलनीय रहेको प्रस्ट पारे । उनले आफूले बाहिर बाट मात्रै कर्णालीको नाम सुनेको तर प्रत्यक्ष अवलोकन गर्न नपाएको बताउँदै थपे, “साँच्चिकै कर्णालीका विद्यार्थी अनुशासित, मर्यादित एवं पढाइमा अब्बल रहेछन् ।”
शिक्षक यामनाथ रिजाल र विद्यार्थी शुभेक्षा खतिवडाले सञ्चालन गरेको कार्यक्रममा उपस्थित अतिथिहरूलाई कक्षा १२ की छात्रा मेलिना सुवेदीले स्वागत गरेकी थिइन् ।
कार्यक्रममा विद्यालयका पूर्व प्राचार्य गङगाराम गडतौलाले विद्यालयको शैक्षिक विचार प्रस्तुत गरेका थिए ।
कक्षा ११ का विद्यार्थीलाई अबिर र खादा लगाएर स्वागत गरिएको थियोे भने १२ पास आउट विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियोे ।
औपचारिक कार्यक्रमपछि विद्यालयको स्टेजमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।