काठमाडौं । अभिनेता राजेश हमालले कलाकारको उमेरभन्दा उसले निर्वाह गर्ने पात्र र भूमिकाको विषयमा बढी चर्चा हुनुपर्ने बताउनुभएको छ। ‘नरसिंहा अवतार’ चलचित्रको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा कार्यक्रममा अभिनेता हमालले पात्रमा सुहाउँदो अभिनय गर्न सक्ने कलाकारका लागि उमेर बाधक नबन्ने धारणा व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, “मेरो उमेर वा मसँग अभिनय गर्ने कलाकारको उमेर अन्तरको विषयमा भन्दा पनि हामी पात्रमा कत्तिको सुहाएका छौँ भन्ने कुरामा ध्यान जानु आवश्यक छ। पर्दामा कलाकारको उमेरभन्दा अभिनय महत्वपूर्ण हुन्छ। यहाँ कुनै उमेरको सीमाले कलाकारको यात्रा रोक्दैन। मैले लामो समयसम्म अभिनयलाई निरन्तरता दिइरहेको छु, यो मेरो लागि सौभाग्य हो।”
अभिनेता हमालले चलचित्रको कथा तथा आफ्नो पात्र उपयुक्त देखिएकै कारण आठ वर्षपछि अभिनयमा फर्किएको स्पष्ट पार्नुभयो। उहाँले नयाँ कलाकारहरूको अभिनयप्रति देखिएको समर्पणको प्रशंसा गर्दै उनीहरूलाई उज्ज्वल भविष्यको शुभकामना दिनुभयो।
चलचित्रमा अभिनेता हमालको जोडी बनेकी अभिनेत्री नीति शाहले अनुभवी कलाकारसँग काम गर्न पाउनु आफ्नो करियरका लागि महत्वपूर्ण भएको बताउनुभयो। उहाँले भन्नुभयो, “अभिनेता हमालसँग सहकार्य गर्न पाउँदा निकै उत्साहित छु। उहाँको अनुभवबाट धेरै कुरा सिक्ने अवसर मिल्यो। हामी दुवै पात्रअनुसार राम्रोसँग सुहाएका छौँ।”
दिवाकर भट्टराईको निर्देशनमा बनेको ‘नरसिंहा अवतार’ आगामी वर्ष २०८२ जेठ ९ गते प्रदर्शनमा आउनेछ। चलचित्रमा अभिनेता हमाल र अभिनेत्री शाहसँगै सरोज खनाल, नीर शाह, राज कटुवाल, सनिषा भट्टराई, उषा खड्गी, अर्जुन श्रेष्ठ, प्रशान्त ताम्राकारलगायतका कलाकारको अभिनय रहेको छ।