काँकडभिट्टाबाट चालु आर्थिक वर्षको तीन महिनामा निर्यातका तुलनामा पाँच गुणाभन्दा धेरै ताजा तरकारी भारतबाट आयात भएको छ ।
प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाको प्रथम त्रैमासिक अभिलेखअनुसार आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा भारतबाट रु ४७ करोड ९७ लाख ६० हजार मूल्यबराबरको २३ हजार नौ सय ८८ मेट्रिक टन ताजा तरकारी आयात भएको छ ।
सोही अवधिमा नेपालबाट रु नौ करोड ६५ लाख ७२ हजार आठ सय मूल्यबराबरको छ हजार ३० मेट्रिक टन तरकारी भारत निर्यात भएको कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरले बताउनुभयो । पूर्वीनाकाबाट हुने ताजा तरकारीको व्यापारमा चालु आवको तीन महिनामै रु ३८ करोड ३१ लाख ८७ हजार दुई सयबराबरको व्यापार घाटा भएको छ ।
नेपालबाट निर्यात हुने ताजा तरकारीमा बन्दाकोभी, मुला र गोलभेँडा छन् । यीमध्ये सबैभन्दा बढी रु नौ करोड ५४ लाख ७२ हजार मूल्यबराबरको पाँच हजार नौ सय ६७ मेट्रिक टन बन्दाकोभी भारततर्फ निर्यात भएको ठाकुरले जानकारी दिनुभयो ।
यसैगरी तरकारीमा गोलभेँडा रु पाँच लाख १२ हजार मूल्यबराबरको २६ मेट्रिक टन र रु पाँच लाख ८९ हजार मूल्यबराबरको ३७ मेट्रिक टन मुला भारततर्फ निर्यात भएको छ । धनकुटा र इलाममा उत्पादित बन्दाकोभी, मुला र गोलभेँडा भारत निर्यात हुने गरेको छ ।