झापा । काँकरभिट्टामा अवैध हतियारसहित एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा मेचीनगर–६, काँकरभिट्टा बसपार्कस्थितबाट भारत पश्चिम बंगाल दुर्गानगर, सिलिगुडी निवासी अन्दाजी ३५ वर्षीय जय प्रकाश कुमार पाठकलाई पक्राउ गरेको हो।
पाठक सवार WB 70 G 3232 नम्बरको TUV300 मोडलको कार जाँच गर्ने क्रममा चालक सिटमुनि लुकाइ राखिएको अवस्थामा “STAR RX (IN XAMPL CO2 001907 4.5 MM) MAKE IN INDIA” लेखिएको म्याग्जिनसहितको कालो रंगको एयर पेस्तोल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्र खड्काले जानकारी दिए।
उक्त पेस्तोलको म्याग्जिन खोली हेर्दा एयर बुलेट जस्तो देखिने ५ राउण्ड गोली फेला परेको थियो। साथै, चालक सिटको दायाँबायाँ दुबै छेउबाट एक–एक थान गरी जम्मा २ थान धारिलो खुकुरी बरामद गरिएको उनले बताए।
त्यसैगरी पाठकको साथबाट रेडमी र स्यामसङ ब्रान्डका दुई मोबाइल फोन, परिचय खुल्ने कागजात र गाडीको RC Book पनि बरामद गरिएको प्रहरीको भनाइ छ।
पाठकलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।