रुपन्देही : नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाललाई पार्टीबाट एक वर्षका लागि निष्कासन गरेको छ। २०७९ सालको निर्वाचनमा आफ्नै पार्टीका उम्मेदवारविरुद्ध काम गरेको आरोपमा उनलाई कारबाही गरिएको हो।
खनालमाथि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका विनोद चौधरी र देवेन्द्रराज कँडेललाई निर्वाचनमा असहयोग गरेको उजुरी पार्टीमा परेको थियो। लामो समयपछि उक्त उजुरीलाई आधार मान्दै केन्द्रीय अनुशासन समितिले कारबाहीको निर्णय लिएको हो।
समितिका सभापति आनन्दप्रसाद ढुंगानाले लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनलाई पठाएको पत्रमा कारबाहीको निर्णयको जानकारी गराइएको छ। पत्र अनुसार, खनालले दिएको स्पष्टिकरण चित्तबुझ्दो नलागेकाले नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क), (ख), (घ) र उपधारा ८ (ड) अनुसार उनलाई पार्टी सदस्यताबाट १ वर्षका लागि निष्कासन गरिएको उल्लेख छ।
यस विषयले असार १६ गतेदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा समेत चर्चा पाएको थियो। कारबाहीको सूचना पाएसँगै खनालले पत्रकार सम्मेलन गरी निर्णयको विरोध जनाएका छन्। उनले पार्टीभित्र ‘डन र धन’ भएका व्यक्तिहरूको पकड बढेको आरोप लगाउँदै भने, “गल्ती गर्ने बचाइने र पार्टी बचाउन लाग्ने सकाइने प्रवृत्तिले ०८४ मा कांग्रेस सकिने खतरा देखिन्छ।”
नेपाल प्रेससँग कुरा गर्दै उनले अन्तिम निर्णय आफूले होइन, आफ्ना क्षेत्रका पार्टी कमिटीहरूले गर्ने बताएका छन्। “सबै क्षेत्रको बैठक बोलाइएको छ। त्यहाँका कमिटीको निर्णय अनुसार म अघि बढ्नेछु,” खनालले प्रतिक्रिया दिएका छन्।