काठमाडौं । नेपाली कांग्रेसकी सांसद शान्ति विकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ‘रवि एन्ड कम्पनी’ को संज्ञा दिएकी छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा विशेष समयमा बोल्दै उनले दल एउटा व्यक्तिमात्रैमा निर्भर हुँदा जनताका समस्या समाधान नहुने टिप्पणी गरिन् ।
सांसद विकले रास्वपा अध्यक्ष रवि लामिछानेलाई लक्षित गर्दै सहकारी ठगीजस्तो गम्भीर आर्थिक हिनामिनालाई राजनीतिक प्रतिशोधको मुद्दा बनाउने शैली गलत भएको बताइन् । उनका अनुसार पुराना दलप्रति प्रतिशोध साधिएको भन्ने ब्रान्डिङ गरेर रास्वपाले जनतालाई भड्काउने काम गरिरहेको छ ।
‘रवि एन्ड कम्पनी उर्फ रास्वपाबाट पुराना दललाई प्रतिशोधी देखाउने प्रयास भइरहेको छ,’ विकले भनिन्, ‘तर इतिहास बदलेको कांग्रेसलाई रास्वपासँग प्रतिशोध साध्नु पर्ने कुनै कारण छैन ।’
उनले रास्वपाको अहिलेको राजनीतिक गतिविधि जनताको सहानुभूति बटुल्ने ‘काइते खेल’ मात्रै भएको आरोप समेत लगाइन् ।