सशस्त्र प्रहरी बलले टेन्ट र पालसहित तीनवटा ‘डिजास्टर रेस्पोन्स सिस्टम कन्टेनर’ भूकम्प प्रभाबित क्षेत्रमा पठाएको छ।
जाजरकोट र रुकुम पश्चिमका पीडितको लागि सशस्त्र प्रहरीको तीन वटा डिजास्टर रेस्पोन्स सिस्टम (डीआरएस) कन्टेनर टेन्ट र पाल लिएर त्यसतर्फ लागेका हुन्।
सशस्त्र प्रहरी सहायक निरीक्षक रामविश्वास यादवसहितको सुरक्षा फौज आइतबार बिहान पौने ४ बजे तीनवटा कन्टेनरमा १० हजार पाल र ७ सय थान डोम टेन्ट लिएर पश्चिम रुकुमको लागि हिँडेको हो।
काठमाडौँ उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २० विपद् उद्धार उपत्यका गणमा रहेको ७ सय थान टेन्ट र नम्बर २२ गुहेश्वरी गण भक्तपुरमा रहेको १० हजार पाल लिएर ३ वटा कन्टेनर भूकम्प प्रभावित क्षेत्रतर्फ गएको कार्यालयले जनाएको छ।
यसअघि भुकम्प पीडितहरुको लागि आवश्यक सामाग्रीसहित दाङबाट पश्चिम रुकुम र सुर्खेतबाट जाजरकोटको लागि दुई वटा डिजास्टर रेस्पोन्स सिस्टम पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
आज (आइतबार) पनि भूकम्प प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी बलले उद्दार कार्य जारी राखेको छ।