कचनकवल। कचनकवल गाउँपालिकामा माछाका भुरा वितरणको विषयलाई लिएर कर्मचारीमाथि दुर्व्यवहार गर्नेलाई पालिकाले कारबाही गर्ने चेतावनी दिएको छ।
बिहीवार पालिकामा भएको माछाका भुरा वितरणलाई लिएर पशुपन्छी तथा मत्स्य विकास शाखाका शाखा प्रमुख मशिन्द्र यादवमाथि दुर्व्यवहार गरेको गाउँपालिकाले जनाएको छ।
शुक्रबार सार्वजनिक सूचना जारी गर्दै पालिकाले सोही पालिका वडा नम्बर ६ का भवेश राजवंशी र उनको टोलीले कर्मचारीलाई अभद्र र अशोभनीय व्यवहार गरेकाले प्रशासनसँग समन्वय गरी कारबाही गरिने जनाएको छ।
सूचनामा आगामी दिनमा यस्ता गतिविधि नगर्न र नगराउन समेत अनुरोध गरेको छ। पालिका वा कर्मचारीबाट काम गर्ने क्रममा त्रुटि भएको सभ्य रूपमा प्रस्तुत हुन समेत सूचनामा उल्लेख गरिएको छ।
पालिकाले जारी गरेको सार्वजनिक सूचना :
यस कचनकवल गाउँपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाको स्वीकृत कार्यक्रम अन्तर्गत
(५०% अनुदान कृषकहरूलाई माछा भुरा वितरण कार्यक्रम विशेष कारणवश
स्थगन भएकोमा मिति २०८०/०३/२३ गतेको कार्यपालिकाको निर्णयानुसार माछा भुरा वितरण गर्ने आदेश बमोजिम मिति २०८०/०३/२८ गते बाट भुरा वितरण कार्यक्रम सञ्चालन गर्न फिल्डमा खटिएका कचनकवल गाउँपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखाका शाखा प्रमुख मशिन्द्र यादव सहितका सम्पूर्ण शाखाका राष्ट्रसेवक कर्मचारीहरूलाई आफ्नो कर्तव्य निर्वाहको क्रममा कचनकवल – ६ निवासी भवेश राजवंशीको नेतृत्वको समूहले धम्की दिदै अमर्यादित, अशोभनीय, एवम् अवाञ्छित ढंगले यस पालिकाका राष्ट्रसेवक कर्मचारीहरू माथि अभद्र व्यवहार तथा अपमानजनक शब्दहरू प्रयोग गरी काम कारवाही सुचारु हुन नदिएकोमा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । कानुनलाई हातमा लिई कर्तव्य निर्वाहको क्रममा एक राष्ट्रसेवक कर्मचारी प्रति भएको अभद्र अपमानजनक व्यवहार तथा अवाञ्छित क्रियाकलाप कानुनतः दण्डनीय भएको तथा कानुनलाई हातमा लिने छुट कोही कसैलाई पनि नभएकोले यस्ता गतिविधि गर्ने व्यक्तिहरूलाई कानून बमोजिम कडा भन्दा कडा कारवाही गर्न सम्बन्धित निकायसँग समन्वय गरिने व्यहोरा जानकारी गराइनु साथै राष्ट्रसेवक कर्मचारीहरूको आत्मसम्मान, आत्मविश्वास एवं उच्च मनोबललाई निरुत्साहित गरी सेवा प्रवाहलाई प्रभावित पार्ने तथा व्यक्तिगत स्वार्थ सिद्धिका लागि राष्ट्रसेवक कर्मचारीहरू प्रति गरिने यस्ता प्रकृतिका अराजक गतिविधि आगामी दिनमा नगर्न, नगराउन एवम् समग्र कचनकवललाई शान्त सम्य सुसंस्कृत तथा कर्मचारी कार्य वातावरण मैत्री पालिकाको रुपमा परिचित गराउन सबै सरोकारवालाहरूलाई हार्दिक अपिल गर्दै कार्य सम्पादनका शिलशीलामा भएका त्रुटिमा सभ्य र अनुशासित शैलीमा सचेत र सूचित गराउन समेत हार्दिक अनुरोध गर्दछौ ।
@पालिका सन्देश