झापा । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि १९ गतेसम्म हुने केपी ओली कपको तेस्रो संस्करण २०८१ को प्रचारप्रसारका लागि नेपालकै होचो स्थान कचनकवलमा मैत्रीपूर्ण फुटबल खेल सम्पन्न भएको छ।
राष्ट्रिय युवा संघ कचनकवल गाउँ कमिटीको आयोजनामा भएको खेलमा कचनकवल गाउँ कमिटी र भद्रपुर नगर कमिटी आमनेसामने भए। कचनकवल माविको खेलमैदानमा भएको खेलमा भद्रपुर नगर कमिटीले कचनकवल गाउँ कमिटीलाई १-० गोलअन्तरले पराजित गर्यो।
कचनकवल टोलीमा पूर्व प्रदेश सभा सदस्य बसन्त बानियाँ, कचनकवल गाउँपालिका उपाध्यक्ष नवराज भट्टराई, राष्ट्रिय युवा सङ्घ जिल्ला सचिव उमेश मिश्र, जिल्ला सदस्य कमल घिमिरे, गाउँ कमिटी अध्यक्ष नवराज ढुङ्गाना, सचिव किशोर न्यौपाने, कचनकवल जेसिजका संस्थापक अध्यक्ष खगेन्द्र पाण्डे, संगठनका श्याम घिमिरे, निरज सापकोटा लगायतका खेलाडी थिए।
त्यस्तै, भद्रपुर नगर कमिटीबाट संघका प्रदेश कमिटी सदस्य अभी प्रधान, जिल्ला कमिटी सदस्य असिम शर्मा, संघका भद्रपुर कमिटी अध्यक्ष दिपक बुढाथोकी, सचिव पशुपति खतिवडा, पार्टी कार्यालय सचिव किरण कार्की, मेची क्याम्पसका अखिल अध्यक्ष गौरव लुइटेललगायत मैदानमा उत्रिएका थिए।
केपी ओली कपको तेस्रो संस्करणको तयारीलाई थप सशक्त बनाउन झापाका विभिन्न स्थानमा यस्ता मैत्रीपूर्ण खेलहरू आयोजना गरिने आयोजकले जनाएको छ।