- इन्द्रप्रसाद ओली
कुनै पनि संस्था, कम्पनी, व्यवसाय वा सरकारी/गैरसरकारी सङ्घसंस्था सञ्चालन गर्दा त्यसका लागि निश्चित विधि, प्रक्रिया र निर्देशिका तयार गरिएको हुन्छ।
संस्था ऐन २०३४ अनुसार दर्ता भएका सङ्घसंस्था वा सरकारी, अर्धसरकारी तथा गैरसरकारी निकायहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्न व्यवस्थापकीय आधार आवश्यक हुन्छ।
मापदण्ड भन्नासाथ न्यूनतम आवश्यक पर्ने भौतिक संरचना, मानवीय स्रोत, जनशक्ति र वातावरणसँग सम्बन्धित आधार बुझिन्छ। जस्तै – वित्तीय सेवा, जनस्वास्थ्य, शैक्षिक संस्था वा अन्य व्यवसाय सञ्चालन गर्न आवश्यक कार्ययोजना तयार गर्दा आधारभूत मापदण्ड तोकिएको हुन्छ। यसले संस्थालाई गुणस्तरीय, भरपर्दो र विश्वसनीय बनाउन मद्दत पुर्याउँछ।
त्यसैअनुरूप मिति २०७५ माघ २५ गते नेपाल सरकार, मन्त्रिपरिषद्ले स्वीकृत गरी लागू औषध प्रयोगकर्ताका लागि उपचार तथा पुनर्स्थापना केन्द्र सञ्चालन निर्देशिका २०७५ गृहमन्त्रालयमार्फत जारी गरेको हो। यसको कार्यान्वयनका लागि गृहमन्त्रालयले सम्बन्धित निकायलाई परिपत्र गर्दै निर्देशन दिएको पाइन्छ।
यस निर्देशिका नेपाल सरकारले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ बमोजिम दिएको अधिकार प्रयोग गरी जारी गरेको हो। तर, कतिपय अवस्थामा जसका लागि यो निर्देशिका ल्याइयो, ती स्वयं यसबारे अनविज्ञ रहन्छन्। अनुगमन तथा अद्यावधिक गर्नु पर्ने सरोकारवाला निकायहरूले पनि खासै चासो दिएको पाइँदैन।
संस्था ऐन २०३४ वा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएका लागू औषध प्रयोगकर्ताका लागि उपचार तथा पुनर्स्थापना केन्द्रहरूले सो निर्देशिकाअनुसार मात्र सञ्चालन गर्नुपर्ने हुन्छ। अन्यथा ती गैरकानुनी मानिन्छन्। गैरकानुनी रूपमा सञ्चालन भएका केन्द्रहरूलाई सम्बन्धित निकायहरूले खारेज गर्न सक्ने प्रावधान छ।
हरेक संस्थाले आर्थिक वर्षको तीन महिनाभित्र आर्थिक लेखापरीक्षण गराई साधारण सभाबाट अनुमोदन गरी, आन्तरिक राजस्व कार्यालयबाट कर चुक्ता तथा नवीकरण सिफारिस लिएर सम्बन्धित वडा र जिल्ला प्रशासन कार्यालयमार्फत नवीकरण गर्नुपर्ने हुन्छ।
यसरी हेर्दा, कुनै पनि वडामा सञ्चालित केन्द्र मापदण्डअनुसार सञ्चालित छन् कि छैनन्, उपचारमा कुन विधि अपनाइएको छ, कुन समूहका व्यक्तिहरू सहभागी छन्, परिणाम कस्तो आएको छ भन्ने अद्यावधिक विवरण राखी राम्रो काम गर्ने संस्थालाई प्रोत्साहन र सहयोग गर्नुपर्ने हुन्छ। त्यस्तै, मापदण्ड विपरीत वा गैरकानुनी रूपमा सञ्चालन हुने संस्थालाई सुधार गर्न लगाउने, सुधार नभए नवीकरण रोक्ने जिम्मेवारी स्थानीय सरकारको पनि हो।
सुरक्षाको दृष्टिले, अस्पतालभन्दा लागू औषध प्रयोगकर्ताका लागि सञ्चालन गरिने उपचार तथा पुनर्स्थापना केन्द्र अझ संवेदनशील हुन्छन्। त्यहाँ उपचारमा आउने सेवाग्राहीहरू मानसिक, विचारात्मक तथा शारीरिक रूपमा कमजोर हुने भएकाले यस्ता केन्द्रमा यथेष्ट परामर्शदाता, स्वास्थ्यकर्मी र भौतिक संरचना नहुँदा त्यसको दोष केवल केन्द्रलाई मात्र होइन, अनुमति दिने निकायलाई पनि जान्छ।
लागू औषध प्रयोगकर्तालाई केन्द्रमा भर्ना गर्नुअघि अभिभावक वा संरक्षकलाई आवश्यक विवरण, उपचार अवधि, लाग्ने खर्च आदिबारे स्पष्ट जानकारी दिनु पर्ने व्यवस्था छ। सेवाग्राहीको सम्पूर्ण विवरण संकलन गरी प्रत्येक तीन महिनामा पालिका र जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेस गर्नुपर्ने हुन्छ। यसले वार्षिक नतिजा र उपचार प्राप्त गर्ने संख्याबारे स्पष्ट चित्र प्रस्तुत गर्छ।
उपचार तथा पुनर्स्थापना केन्द्र सञ्चालनका न्यूनतम मापदण्डहरू
१. स्थान
- स्वच्छ र शान्त वातावरण भएको स्थानमा हुनुपर्ने।
- आकस्मिक उपचारका लागि नजिकै अस्पताल वा स्वास्थ्य संस्था हुनु पर्ने।
- केन्द्रमा प्रवेश गर्न सहज मार्गको व्यवस्था हुनु पर्ने।
- काठमाडौं उपत्यकामा कम्तीमा १ रोपनी र अन्य क्षेत्रमा कम्तीमा ३ रोपनी जग्गा हुनुपर्ने।
२. भौतिक पूर्वाधार
- योग तथा ध्यानकक्ष, कक्षा कोठा, व्यायाम कक्ष, सुत्ने कोठा, भान्सा, कार्यालय, पुस्तकालय, स्नानगृह, शौचालय, उपचारकक्षसहित कम्तीमा ३० जनाले बस्न मिल्ने पक्की भवन।
- पर्याप्त प्रकाश र हावा हुने कोठा।
- हरेक प्रयोगकर्ताका लागि छुट्टाछुट्टै ओछ्यान।
- २४ घण्टा पानी र बिजुलीको सुविधा।
- तालिम सञ्चालनका लागि छुट्टै हल।
- महिला र पुरुष प्रयोगकर्ताको लागि छुट्टाछुट्टै भवन तथा बीचमा आवतजावत नहुने गरी पर्खाल वा सुरक्षा व्यवस्था।
- खेलकुद परिसर र बगैंचाको व्यवस्था।
- कम्पाउण्डवालसहित सुरक्षित परिसर।
३. खानपान, सरसफाइ र मनोरञ्जन
- प्रयोगकर्ताको अवस्थाअनुसार सन्तुलित पौष्टिक आहार।
- चौबिसै घण्टा पालोपहेराको व्यवस्था।
- शारीरिक र मानसिक सुरक्षा।
- सफासुग्घर कोठा र परिसर।
- अध्ययन सामग्री तथा टेलिभिजनको व्यवस्था।
४. जनशक्ति
- व्यवस्थापक/कार्यकारी प्रमुख/कार्यक्रम संयोजक – १ जना।
- प्रशासन/लेखा सहायक – १ जना।
- सुरक्षाकर्मी – २ जना।
- भान्से – २ जना।
- कार्यालय सहयोगी/बगैँचे – १ जना।
- आवश्यक चिकित्सक, परामर्शदाता तथा स्वास्थ्यकर्मी।
केन्द्रको दायित्व
- अभिभावक वा संरक्षकको लिखित सहमतिमा मात्र प्रयोगकर्ता भर्ना गर्नुपर्ने।
- सदैव मानवोचित व्यवहार गर्नुपर्ने।
- व्यक्तिगत गोपनीयता हनन हुने कार्य नगर्नुपर्ने।
- परिवारसँग भेटघाट र सम्पर्क सहज बनाउनुपर्ने।
- आगन्तुक पुस्तिका राख्ने।
- नागरिक वडापत्र प्रकाशन गर्ने।
- सेवाको तालिका सूचना पाटीमा टाँस्ने।
- प्रयोगकर्ताको सम्पूर्ण विवरण अद्यावधिक राख्ने।
- वार्षिक प्रतिवेदन मन्त्रालयमा पेस गर्ने।
- अपाङ्गतामैत्री र महिलामैत्री वातावरण सुनिश्चित गर्ने।
उपचार तथा परामर्श सम्बन्धी विशेष व्यवस्था
- मान्यता प्राप्त उपचार पद्दति मात्र प्रयोग गर्नुपर्ने।
- चिकित्सक, मनोचिकित्सक, स्वास्थ्यकर्मी तथा तालिमप्राप्त परामर्शदाता अनिवार्य हुनुपर्ने।
- आवश्यक परे स्थानीय अस्पतालमा रेफर गर्नुपर्ने।
- चिकित्सकको सिफारिसमा मात्र औषधि उपलब्ध गराउनुपर्ने।
- चिकित्सक र परामर्शदाताको सेवा समय अद्यावधिक राख्नुपर्ने।
यसरी प्रत्येक केन्द्रले तोकिएको मापदण्ड अनुसार मात्र सञ्चालन हुनुपर्ने हुन्छ। अन्यथा सो गैरकानुनी ठहरिने भएकाले सरोकारवाला सबै निकायले गम्भीर ध्यान दिनु आवश्यक छ।
स्रोत
- लागू औषध प्रयोगकर्ताका लागि उपचार तथा पुनर्स्थापना केन्द्र सञ्चालन निर्देशिका २०७५
- मुक्ती पुस्तक, २०६९
- दिव्य दृष्टि पुस्तक, २०८१
इन्द्र प्रसाद ओली
-अध्यक्ष/प्रमुख प्रशिक्षक
-चेतना नेपाल
-९८०७९९२७६६