- नवीन उप्रेती
इलाम — “ऊनको स्विटर” फिल्ममा गाडी गुडाउने पात्रको रूपमा देखा परेका मिलन खत्रि मात्र कलाकार होइनन्, उनी फिल्मका निर्माता समेत हुन्। अभिनय र निर्माण दुबै भूमिकामा सक्रिय खत्रि इलामको माइजोगमाइ गाउँपालिका–५, साविक सोयाङ गाविसमा जन्मिएका एक प्रेरणादायी पात्र हुन्, जसको संघर्षपूर्ण यात्रा आज धेरैका लागि अनुकरणीय बनेको छ।
खत्रिले पहिलो पटक अभिनय गरेको म्युजिक भिडियो “तिनपाते” आफ्नै गाउँ आटमाडौमा छायांकन गरिएको थियो। त्यसयता उनले निर्माण भएका अधिकांश स्थानीय भिडियोमा मुख्य भूमिका निर्वाह गर्नुका साथै लगानीकर्ताको भूमिकासमेत निर्वाह गरेका छन्। तर, “ऊनको स्विटर” फिल्म भने उनका लागि विशेष रह्यो। सामाजिक सन्देश बोकेको यस प्रतीकात्मक फिल्ममार्फत उनले आफ्नै जीवन यात्रा र संघर्षलाई पर्दामा उतार्ने प्रयास गरेका छन्।
फेसबुकमार्फत उनले फिल्मको अनुभव यसरी पोखेका छन्: “ऊनको स्विटरको गाडी गुडाउने क्रममा कहिले भिर र पहिरो, कहिले ठुलो पर्खाल पार गर्दै, कहिले त भिरबाटै झर्न खोज्ने। बल्लतल्ल लङ ड्राइभ पार गरेर अब पिच सडकमा सरर यात्रा हुँदैछ… कस्तो लाग्यो त गुरूजीको रोलमा?”
शैक्षिक यात्रासमेत खत्रिको सहज थिएन। माध्यमिक शिक्षापछि उच्च शिक्षाका लागि उनले हप्तामा एक पटक कोइला बोकेर बजार ओहोरदोहोर गर्नुपरेको थियो। यही कठिन परिश्रमको फलस्वरूप उनले इलाम फाउन्डेशन क्याम्पसबाट वाणिज्य संकायमा स्नातक (B.B.S.) र महेन्द्र रत्न क्याम्पसबाट ग्रामीण विकासमा स्नातकोत्तर (M.A. in RD) सम्पन्न गरे।
कोइला बेच्ने संघर्षशील युवकदेखि सफल उद्यमी बन्ने उनको यात्रा उदाहरणीय छ। स्थानीय उत्पादनलाई व्यावसायिकता दिने लक्ष्यसहित उनले “सेतो पहाड डेरी उद्योग” स्थापना गरे, जसले हाल देशभर घ्यू र छुर्पी आपूर्ति गर्दै रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्याइरहेको छ। हाल उक्त उद्योगमार्फत ३०–४० जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
त्यसैगरी, मिडिया तथा चलचित्र क्षेत्रतर्फ पनि उनी सक्रिय छन्। “आटमाडौ” नामक कम्पनीमार्फत विभिन्न कार्यक्रम तथा फिल्म निर्माणमा संलग्न रहँदै आएका खत्रि “ऊनको स्विटर” का कार्यकारी निर्माता पनि हुन्। उनी इलामका सक्रिय युवा समाजसेवीका रूपमा समेत परिचित छन्।
शिक्षा, श्रम र संकल्पको बलमा खत्रिले देखाएका छन्—सपना साकार गर्न सहर जानैपर्छ भन्ने होइन, गाउँबाटै पनि थालनी गरेर सफलताको शिखर चुम्न सकिन्छ। आज उनी इलामका मात्र होइन, देशभर संघर्षरत युवाहरूका लागि प्रेरणाका स्रोत बनेका छन्।