काठमाडौं– कोटेश्वर क्याम्पसकी विद्यार्थी रेविका खत्रीमाथि प्रहरीले गोली प्रहार गरी गम्भीर घाइते बनाएको घटनाप्रति राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले कडा आपत्ति जनाउँदै घोर भर्त्सना गरेको छ। संगठनले निर्दोष विद्यार्थीमाथि गरिएको यो आक्रमणलाई नागरिक अधिकारमाथिको गम्भीर प्रहारको संज्ञा दिँदै दोषी प्रहरीमाथि तत्काल कारबाहीको माग गरेको हो।
रेविका खत्री कोटेश्वर क्याम्पसमा बिबिएस तेस्रो वर्षमा अध्ययनरत होनहार विद्यार्थी हुन्। हाल उनी सिभिल अस्पतालमा उपचाररत छिन्, जहाँ उनको स्वास्थ्य अवस्था गम्भीर रहेको चिकित्सकहरूले बताएका छन्। यति संवेदनशील घटनापछि पनि प्रहरी प्रशासनले कुनै आधिकारिक स्पष्टिकरण नदिएकोप्रति संगठनले गम्भीर आपत्ति जनाएको छ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले दोषी प्रहरीमाथि तत्काल कारबाही गर्नुपर्ने, गृहमन्त्रीबाट घटनाबारे सार्वजनिक स्पष्टीकरण दिनुपर्ने, म्याद सकिएको अश्रुग्यासको प्रयोगमाथि गम्भीर छानबिन गर्नुपर्ने, तथा अन्तर्राष्ट्रिय मानवअधिकार आयोगलाई घटनाको निष्पक्ष छानबिन गर्न आह्वान गरिनुपर्ने माग गरेको छ।
संगठनले सरकार र गृह प्रशासनले यस घटनाप्रति गम्भीर चासो नदेखाए कडा आन्दोलनको चेतावनी दिएको छ। साथै, संगठनले सम्पूर्ण विद्यार्थी समुदायलाई एकजुट भई अन्यायविरुद्ध आवाज उठाउन अपील गरेको छ।
राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन विद्यार्थीहरूको हक, अधिकार र सुरक्षाका लागि सदैव प्रतिबद्ध रहेको बताउँदै घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारबाहीको माग दोहोर्याएको छ

