झापा। झापा जिल्लामा कोभिड–१९ विरुद्धको १५ हजार डोज फाइजर खोप भित्रिएको छ। स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले नयाँ खोप तालिकासहित उक्त खोप जिल्ला भित्रिएको जानकारी दिनुभएको हो।
“झापाका पालिकाहरूसँग समन्वय गरेर खोप वितरण गरिनेछ,” प्रमुख बाराकोटीले भन्नुभयो, “अब नयाँ तालिका अनुसार खोप कार्यक्रम अघि बढ्छ।”
नयाँ खोप तालिकाअनुसार पाँच प्रकारका जनसंख्यालाई प्राथमिकतामा राखेर खोप वितरण गरिनेछ। प्रमुख बाराकोटीका अनुसार, रोग प्रतिरोध क्षमता कम भएका पाँच वर्षभन्दा माथिका बालबालिका, वयस्क र ज्येष्ठ नागरिकहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ।
त्यस्तै, स्वास्थ्यकर्मी तथा बिरामीसँग प्रत्यक्ष सम्पर्कमा आउने व्यक्ति, गर्भवती महिला, १२ वर्ष वा सोभन्दा माथिका व्यक्ति, साथै ५ देखि ११ वर्ष उमेर समूहका अन्य बालबालिकाहरूलाई पनि खोप दिन तयारी भइरहेको छ।
यसैबीच, जिल्लामा कोभिड संक्रमण पुनः देखिन थालेको छ। पछिल्लो विवरण अनुसार, आठ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये पाँच जना झापाका हुन् भने मोरङ, इलाम र दोलखाका एक–एक जना संक्रमित रहेका छन्।
कोभिड संक्रमण देखिएपछि मेचीनगर नगरपालिका अन्तर्गतको काँकरभिट्टा नाकामा शंकास्पद व्यक्तिहरूको परीक्षण सुरु गरिएको छ। “नाकामा परीक्षणका लागि तीन जना स्वास्थ्यकर्मी खटिएका छन्,” प्रमुख बाराकोटीले जानकारी दिनुभयो।
तर, “गम्भीर प्रकृतिका बिरामीलाई कुन अस्पतालमा भर्ना गर्ने भन्ने विषयमा अन्योल छ,” उहाँले चिन्ता व्यक्त गर्नुभयो।