Search
Close this search box.
Search
Close this search box.

कोरोना कहर- म्याग्दीका तीन स्थानीय तह मंसीर १ गतेसम्म बन्द

म्याग्दी। जनप्रतिनिधि, राजनीतिकर्मी, व्यवसायी र कर्मचारीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि म्याग्दीका तीनवटा गाउँपालिका बन्द भएका छन्।

मङ्गला र मालिका गाउँपालिका तथा बेनी नगरपालिका, वडा कार्यालय, बजारसहित बैंक, वित्तीय र सहकारी संस्था बन्द भएका हुन्। धेरै जनसम्पर्क हुने व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्दाबन्दी भएको हो। मङ्गला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले सरोकारवालाको सुझावका आधारमा कोरोना फैलिन नदिन बिहीबार रातिदेखि मंसीर १ गते राति १२ बजेसम्म बन्दाबन्दी गरिएको जानकारी दिए।

EPIC

छिमेकी बेनी नगरपालिका र मालिका गाउँपालिकाले सेवा तथा बजार बन्द गरेपछि मङ्गलाको केन्द्र बाबियाचौरका बैंक, वित्तीय र सहकारी संस्थाका साथै कार्यालयमा भीड र आवतजावत बढेको थियो। मङ्गलाका पाँचजना कर्मचारीमा कोरोना पुष्टि भएको छ। मालिका गाउँपालिकाको केन्द्र दरवाङ बजारसहित कार्यालय र भीडभाड हुने ठाउँलाई बिहीबारदेखि एक हप्ताका लागि बन्द गरिएको हो।

प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले अतिआवश्यक र आन्तरिकबाहेकका काम तथा सेवा प्रवाह बन्द गरिएको बताए। दरवाङका एक सुरक्षाकर्मीमा बुधबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो। बेनी नगरपालिका र सदरमुकाम बेनी बजार कात्तिक १४ गतेदेखिनै बन्द भएको छ।

सदरमुकाम बेनी बजारसँगै लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाको बजार क्षेत्र बुधबारदेखि एक हप्ताका लागि बन्द भएको छ। बैंक वित्तीय र सहकारी संस्था बन्द हुँदा सर्वसाधारणलाई आर्थिक कारोबार गर्न समस्या भएको छ। सार्वजनिक यातायात, ढुवानी र विकास निर्माणका काम भने सञ्चालन भएका छन्।

स्वास्थ्य कार्यालयका अनुसार पछिल्लोपटक थपिएकासहित म्याग्दीमा कोरोना सङ्क्रमितको सङ्ख्या १०८ जना पुगेको छ। सक्रिय सङ्क्रमित ३५ जना छन्। करिब दुई हजार स्वाबको नमूना परीक्षण गरिएको छ। गत हप्ता बेनीका एक वृद्धको कोरोना सङ्क्रमणका कारण काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो। यसैगरी असोज तेस्रो साता धौलागिरि गाउँपालिका(७ का एक वृद्धको पनि पोखरामा कोरोनाका कारण ज्यान गएको थियो।

यसैगरी मालिका गाउँपालिकाले दरबाङमा कोरोना सङ्क्रमितको उपचारका लागि पाँच शय्याको कोरोना अस्पताल र १५ शय्या क्षमताको प्रीआइसोलेशन कक्ष स्थापना गरिएको गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले जानकारी दिइन्।

लक्षण नभएका सङ्क्रमितलाई प्रीआइसोलेसन, सामान्य लक्षण भएकालाई कोरोना अस्पताल र जटिल समस्या देखिए बेनी र पोखराको अस्पतालमा रिफर गर्ने व्यवस्था मिलाइएको छ। चिकित्सक, स्वास्थ्यकर्मी र सङ्क्रमितको आवासका लागि फरक कोठा बनाइएको र त्यसलाई घेराबार गरिने उपाध्यक्ष बिटालुले बताइन्। रासस

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *