विराटनगर — कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई भेट्न अब मोबाइल फोन साथमा लान नपाइने भएको छ। मुख्यमन्त्री कार्कीले आफ्ना भेटवार्ता सुरक्षित र गोप्य राख्नका लागि आगन्तुकहरूलाई मोबाइल निषेध गर्ने निर्णय गरेका हुन्।
मुख्यमन्त्रीको सचिवालयका अनुसार उक्त निर्णय सुरक्षा सतर्कता र गोपनीयता सुनिश्चित गर्नका लागि गरिएको हो। अबदेखि मुख्यमन्त्री कार्यालय प्रवेश गर्ने प्रत्येक आगन्तुकले मोबाइल फोन बाहिरै राख्नुपर्नेछ।
यस निर्णयसँगै आगन्तुकले कुनै अडियो/भिडियो रेकर्डिङ, प्रत्यक्ष प्रसारण वा फोटो खिच्न पाउने छैनन्।
मुख्यमन्त्रीका निजी सचिव कमल पौडेलका अनुसार, “मुख्यमन्त्रीसँग हुने छलफलहरूमा संवेदनशील नीति, रणनीति र निर्णयहरू समावेश हुने भएकाले गोपनीयता अति आवश्यक छ। त्यसैले मोबाइल फोन बाहिर राखेर मात्रै भेटघाट गर्न सकिने व्यवस्था गरिएको हो,” उनले स्पष्ट पारे।
यो निर्णयले सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा विभिन्न खालका प्रतिक्रिया निम्त्याएको छ। कतिपयले यस कदमलाई कार्यशैलीमा शिष्टाचार र मर्यादा कायम गर्ने सकारात्मक पहलका रूपमा हेरेका छन् भने केहीले यसलाई पारदर्शिता घटाउने संकेतका रूपमा आलोचना गरेका छन्।