काठमाडौं, २५ साउन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आइतबार प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गरेका छन्। भेटमा प्रदेश मन्त्रीपरिषद् फेरबदलका साथै समसामयिक राजनीतिक विषयमा छलफल भएको स्रोतले जनाएको छ।
मुख्यमन्त्री कार्कीले प्रधानमन्त्री ओली र सभापति देउवालाई प्रदेशको राजनीतिक अवस्था र सरकारका गतिविधिबारे जानकारी गराएको बताइएको छ। स्रोतका अनुसार, मन्त्री फेरबदलका विषयमा प्रधानमन्त्री ओलीले सल्लाह गरेर मात्र निर्णय लिने बताएका छन् भने सभापति देउवाले पनि त्यसै अनुसार जवाफ दिएका छन्।
कोशी प्रदेशमा कांग्रेस संसदीय दलभित्र देखिएको विवाद र बागमती प्रदेशमा देखिएको आन्तरिक समस्याका कारण मन्त्री फेरबदल प्रक्रिया रोकिएको छ। विवादित मन्त्रीहरूमा पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल र कृषिमन्त्री खगेनसिंह हाङगाम रहेका छन्।
स्रोतका भनाइमा, “मन्त्री फेरबदल माथिल्लो तहबाट सिग्नल आएपछि मात्र हुनेछ। हाम्रो पक्षमा कुनै समस्या छैन, समस्या कांग्रेसभित्र छ।” मुख्यमन्त्री कार्कीले सार्वजनिक रूपमा यसबारे टिप्पणी नगरे पनि नजिकका स्रोतका अनुसार, मन्त्री फेरबदलमार्फत अप्रत्यक्ष रूपमा जवाफ दिन तयारी गरिएको छ।
कांग्रेसभित्र विभिन्न गुटबीच भागबन्डा र व्यवस्थापन चुनौतीका कारण मन्त्री फेरबदलमा ढिलाइ भएको र दबाब भने बढ्दो अवस्थामा रहेको बताइएको छ।
 
								 
															

















