कोशी प्रदेश सरकारले ल्याएको बजेटप्रति सत्तापक्षीय सांसदहरू नै असन्तुष्ट देखिएका छन् ।
आइतबार बसेको नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा कांग्रेसका सांसदहरूले बजेटप्रति असन्तुष्टि जनाउँदै सांसद पदबाटै राजीनामा दिनेसम्मको चेतावनी दिएका छन् ।
पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री समशेर राईले बजेट चित्त बुझ्दो नभएको भन्दै सांसद पदबाटै राजीनामा दिने चेतावनी दिएका हुन् । कांग्रेस र एमालेजस्ता ठूला दल मिलेर बनेको सरकारले जनतामा आशा जगाउनुपर्ने उनको भनाइ छ । ‘ठूला दल सहभागी सरकारले ल्याएको बजेट न केन्द्रमा सन्तुलित देखियो न प्रदेशमा । बजेट जनताका लागि हुनुपर्छ कि मन्त्रीका लागि हुनुपर्छ ? यो मन्त्रीका लागि बनाइएको बजेटमा हामी जान सक्दैनौं भनेर उहाँले कडा आलोचना गर्नुभयो,’ बैठकमा सहभागी एक सांसदले भने ।
बैठकमा सहभागी ती सांसदका अनुसार मन्त्री राईले ‘बजेट करेक्सन गर्न सक्दैनौं भने संसदीय दलले मन्त्री फिर्ता बोलाऊ, त्यो पनि सक्दैनौं भने संसदीय दलबाट राजीनामा देऊ । त्यो सबै कुरा हुँदैन भने हाम्रो राजीनामा स्वीकृत गर’ भन्दै आलोचना गरेका थिए ।
अहिलेसम्मका राजनीतिक नियुक्तिहरूमा सन्तुलन भएको छ कि छैन भनेर बैठकमा प्रश्न उठाइएको थियो ।
२०१५ सालमा बीपी कोइरालाले ल्याएको बजेटको प्रभाव देखेर आर्थिक व्यवस्थापनको नमूना व्यक्तिका कारण कांग्रेसी भएको र आज त्यही पार्टीले बजेट बनाउँदा सन्तुलित नभएको भन्दै सांसदहरूले मन्त्रीहरूप्रति आक्रोस पोखेका थिए ।
कांग्रेस संसदीय दलका उपनेता हिमाल कार्की, अमृत अर्याललगायतका नेताहरूले बजेटले सैद्धान्तिक मर्मभन्दा फरक ढंगबाट निर्माण भएको आरोप लगाए । ‘नीतिगत रूपमा बजेट ठीक ठाउँबाट नआएको भन्दै धेरै सांसदहरूले प्रश्न उठाएका बैठकमा सहभागी प्रदेशसभा सदस्य मानबहादुर लिम्बूले बताए ।
प्रदेशसभा सदस्य लिम्बूले पर्यटनमन्त्री सदान्नद मण्डलले आफ्नो क्षेत्रमा मात्रै बजेट लगेको भन्दै आपत्ति जनाए ।
गत असार १ गते आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रदेशसभा पेस गरेका थिए । उनले आफैंले ल्याएको बजेटमा केही गल्ती भएको स्विकार गरेका छन् ।