काठमाडौं, साउन १५ — हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेकोले अधिकांश क्षेत्रमा आंशिकदेखि पूर्ण बदलीको अवस्था देखिएको छ।
आज दिउँसो लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने तराई भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ।
सुदूरपश्चिम प्रदेशका साथै देशका अन्य पहाडी क्षेत्रमा केही स्थानहरूमा र लुम्बिनी प्रदेशका तराई भू-भागमा थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेश प्रदेश लगायतका अन्य तराई भू-भागका एक-दुई स्थानहरूमा पनि यस्तै वर्षाको सम्भावना छ।
कोशी प्रदेश र बागमती प्रदेशका पहाडी क्षेत्रका एक-दुई स्थानमा भने भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।
आज राति कोशी, मधेश र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ।
मधेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा तराईका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।