विराटनगर। कोशी प्रदेश सरकारले बसलाई प्रयोग गरी घुम्ती अस्पताल सेवा सुरु गरेको छ। झापाको कमल गाउँपालिकाबाट शुक्रबारदेखि यो सेवा औपचारिक रूपमा सञ्चालनमा आएको हो। कमल गाउँपालिकामा आयोजित स्वास्थ्य शिविरको अवसरमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीले बसभित्रै सञ्चालन हुने घुम्ती अस्पतालको उद्घाटन गरेका हुन्।
प्रदेश सरकारले पहिलो पटक करिब ८० लाख रुपैयाँ खर्च गरेर ठूलो बसलाई पूर्ण रूपमा स्वास्थ्य सेवाका उपकरणले सुसज्जित गर्दै ‘कोशी घुम्ती अस्पताल’ सञ्चालनमा ल्याएको हो। प्रदेशका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले महामारी, ठूला दुर्घटना, विपद् तथा विभिन्न स्वास्थ्य शिविरका समयमा घुम्ती अस्पताल निकै प्रभावकारी हुने बताए।
कोशी प्रदेश स्वास्थ्य निर्देशनालयकी नर्सिङ प्रशासक आस्था थापाका अनुसार बसभित्र स्थापना गरिएको अस्पतालमा रेडियोलोजी सेवा, मुटुको एक्सरे, रगत परीक्षण तथा नमुना संकलनका अत्याधुनिक उपकरणहरू जडान गरिएको छ।



















