विराटनगर । कोशी प्रदेश सरकारले दिनुपर्ने दायित्व बढ्दै गएको छ भने बजेट घट्दै गएको छ । चालु आर्थिक वर्ष प्रदेशको बहुवर्षे दायित्व ९ अर्ब बराबर थियो । यस वर्ष उक्त दायित्व ६ अर्बमा ल्याइपुर्याउने प्रदेश सरकारको लक्ष्य छ ।
यद्यपि चालु आर्थिक वर्षमा फेरि ९ अर्बभन्दा बढीका बहुवर्षे दायित्व थप हुँदा सरकारको दायित्व बढेर झण्डै १६ अर्ब पुग्ने आर्थिक मामिला तथा योजना मन्त्रालयको अनुमान छ ।
मन्त्रालयका उपसचिव तथा प्रवक्ता सुशील बाँस्तोलाले आगामी आर्थिक वर्षका लागि कोशी प्रदेशको बजेटको आकार घट्नसक्ने अनुमान गरे । ‘विगतदेखिको बहुवर्षे दायित्वको ठेक्का ९ अर्ब छ । यस पटक ६ अर्बमा आइपुग्छ भन्ने अनुमान छ । गत वर्षको दायित्वमा हेर्दा कागजी पनि देखिन्छ । कतिपय क्रोनिक आयोजना छन् । कार्यान्वयन भइरहेका आयोजनाहरूको दायित्व ६ अर्ब हाराहारीमा हुनसक्छ,’ बाँस्तोलाले भने ।
यसपटक भौतिक पूर्वाधारतर्फ बहुवर्षेमा ८ अर्ब दायित्व र सिँचाइमा एक अर्ब २० करोड थपिएको उनको भनाइ छ ।
आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि आर्थिक मामिला मन्त्रालयले सबै मन्त्रालयलाई २८ अर्ब ८५ करोडको सिलिङ पठाएको छ । त्यसमा संघीय सरकारले दिने सशर्त अनुदान, विशेष अनुदान थपिन्छ । गत वर्ष प्रदेश सरकारले आफ्नै बजेट भने २९ अर्बको बनाएको थियो । त्यसमा सशर्त र विशेष अनुदान थप हुँदा बजेटको आकार ३५ अर्ब २७ करोड ९३ लाख बराबरको ल्याएको थियो ।
तर, वार्षिक बजेटको ८६।४ प्रतिशत जतिमात्र आम्दानी हुने भएपछि त्यसभित्रै रहेर खर्च व्यवस्था गर्नुपर्ने भएको मन्त्रालयले जनाएको छ । प्रदेशलाई विपदपछिको मर्मत सम्भार तथा पुनःनिर्माणको लागि पनि खर्च गर्नुपर्ने परिस्थिति निर्माण भइरहेको छ । आगामी आर्थिक वर्षको सशर्तमा पनि बजेट घट्ने मन्त्रालयले जनाएको छ ।