काठमाडौं, असार ४ । आज दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहने जलवायु पूर्वानुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरू तथा अन्य प्रदेशका केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
दिउँसोको समयमा यी प्रदेशहरुमध्ये एक-दुई स्थानमा भारीदेखि अत्यधिक वर्षा हुने सम्भावना रहेको बताइएको छ। यस्तै, देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का वर्षा वा हिमपात हुनसक्ने अनुमान गरिएको छ।
रातिको समयमा पनि अधिकांश प्रदेशहरूमा बदलीको अवस्था कायमै रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने, कोशी, मधेश, गण्डकी र लुम्बिनीका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने जलविज्ञहरुको चेतावनी छ।
यसबाहेक, कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा र अन्य प्रदेशका केही उच्च भूभागमा पनि हल्का वर्षा वा हिमपातको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
मौसमी विश्लेषण अनुसार, हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रहरूमा मनसुनी वायुले प्रभाव जमाएको छ। देशको पश्चिमी भू-भागमा भने पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। साथै, भारतको पश्चिम बंगाल आसपास विकसित न्यून चापीय क्षेत्रको प्रभाव पनि आंशिक रूपमा परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।