विराटनगर। राष्ट्रिय क्रिकेट टोलीका खेलाडी तथा विराटनगर–१४ निवासी ललित राजवंशीले विपन्न वर्गको कोटाबाट आफूलाई घर बनाई दिने प्रस्ताव अस्वीकार गरेका छन्। उनले राज्यले खेलाडीलाई सम्मानस्वरूप आवासको व्यवस्था गर्ने हो भने स्वीकार गर्न सक्ने तर विपन्न वर्गका लागि छुट्याइएको सुविधा लिन नचाहेको स्पष्ट पारेका छन्।
आमाको निधनपछि क्रियामा बसेका राजवंशीले भने, “म जग्गाजमिन भएको व्यक्ति हुँ। विपन्न वर्गको कोटाबाट घर बनाउनुपर्ने अवस्था छैन। साँच्चिकै अभावमा रहेका परिवारलाई दिइयोस्, म अरुको अधिकार खोस्न चाहन्न।”
प्रदेश सभा सांसद तथा कांग्रेस केन्द्रीय सदस्य अमृत अर्यालले श्रद्धाञ्जली दिन राजवंशीको घर पुगेका बेला विपन्न आवास कोटाबाट घर बनाइदिने घोषणा गरेका थिए। सो अवसरमा प्रदेशका एक राज्यमन्त्री समेत सहभागी थिए। तर, राजवंशीले उक्त प्रस्तावलाई अस्वीकार गर्दै भने, “आमा नखसेको भए म आफैँ पनि घर निर्माण सुरु गरिसक्थें। सहयोग गर्नु नराम्रो होइन तर विपन्नको कोटाबाट पक्की घर बस्न सक्दिनँ।”
प्रदेश सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा कम्तीमा ६ वटा विपन्न आवास निर्माण गर्दै आएको छ। सांसद अर्यालले राजवंशीको घर कच्ची भएकै कारण सहानुभूति स्वरूप घर बनाइदिने इच्छा व्यक्त गरेका थिए।
पाँच पुस्तादेखि विराटनगरमै बसोबास गर्दै आएका राजवंशी परिवारसँग करिब १ विघाभन्दा बढी जग्गा छ, जसको मूल्य करोडौँमा पर्छ। ललित राजवंशी हाल क्यान र नेपाल प्रहरीमा करार सेवामा कार्यरत छन्। साथै, दुई संस्थाका ब्रान्ड एम्बेस्डरसमेत रहेका उनले खेलको प्रदर्शनअनुसार मासिक लाखौँ रुपैयाँ आम्दानी गर्ने गरेका छन्।