- बैंकहरू धमाधम बजारबाट पैसा उठाउन लागि परिरहेका छन् । तरलताको चपेटामा परेका बैंक तथा वित्तीय संस्थाहरूले पैसा उठाउनकै लागि निक्षेपको ब्याजदर बढाएपछि त्यसको असर शेयर बजारमा देखिन थालेको छ ।
आइतबार दोहोरो अंकले बढेको शेयर बजार सोमबार खुलेको डेढ घण्टा सकिन नपाउँदै ६० अंकले घटिसकेको छ । बैकहरूले निक्षेपको ब्याजदर बढाएको समाचार आएसँगै बजार राताम्मे बन्न टेवा पुगेको हो ।
यो सामाचार तयार पार्दासम्म शेयर बजार परिसूचक नेप्से ६० दशमलव १९ अंकले घटेर २५९६.७७ अंकमा झरिसकेको छ भने सेन्सेटिभ परिसूचक पनि १०.४७ अंकले घटिसकेको छ ।
यो अवधिमा २ सय १४ कम्पनीको ३९ लाख ६१ हजार ९ सय १८ कित्ता शेयर १ अर्ब २९ करोड ६३ लाख ६ हजार ६ सय ६७ रुपैयाँमा कारोबार भइसकेको छ ।
अहिलेसम्म कारोबारमा आएका सबै समूह राताम्मे बनेका छन् भने कम्पनीहरूको अवस्था पनि उस्तै देखिएको छ ।