कचनकवल — कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले गणतन्त्रको उपलब्धि सुरक्षित राख्न सबै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र आम नागरिकको साझा प्रतिबद्धता आवश्यक रहेको बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा बिहीबार साँझ कचनकवल गाउँपालिका ६ स्थित हुकाहुकी चौकमा नेपाली कांग्रेस र नेकपा एमाले गाउँ कमिटीले संयुक्त रूपमा आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टराईले गणतन्त्र प्राप्तिका लागि गरिएको ऐतिहासिक संघर्षको स्मरण गर्दै त्यसको रक्षा र संस्थागतरणमा सबैलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे।
“गणतन्त्र केवल शासन प्रणाली परिवर्तन होइन, यो जनताको अधिकार र स्वाभिमानको ग्यारेन्टी हो,” उनले भने, “यसलाई बलियो बनाउन इमानदारिता, पारदर्शिता र जवाफदेहिताको संस्कार विकास गर्नुपर्छ।”
उपाध्यक्ष भट्टराईले स्थानीय सरकार जनताका समस्या समाधानमा प्रतिवद्ध रहेको उल्लेख गर्दै शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका क्षेत्रमा गाउँपालिकाले गरेका कार्यहरू प्रभावकारी ढंगले अघि बढिरहेका पनि जानकारी दिए।
कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधिहरू, कर्मचारी, विद्यार्थी तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो