- नवीन उप्रेती
कचनकवल। झापाको कचनकवल–३, नयाँ बजारको एक कुनामा बिहान सबेरै साइकलको ताँती लाग्छ। त्यो ताँती र्र्यालीको भने होइन, यो त्यस्तो स्थानको हो जहाँ एक जनाले हजारौँ सपनालाई जगाउने आँट गरेका छन्। त्यो नाम हो अविनाश मोहली।
३० वर्षे युवक मोहली समुदायको अभाव र विपन्नताको घेरामा जन्मिएका हुन्। आर्थिक अभावका कारण उनको आफ्नै अध्ययन निरन्तरता पाउन सकेन। बाल्यकाल किताबका पानामा होइन, जीवनको कठोर मैदानमा लेखियो, एक छाक खानपिनको कमी, भोकै बितेका रात, र चाउरी परेका कापी–कलमसँगको संघर्ष। “पढ्नु त सपना जस्तै थियो,” उनी सम्झिन्छन्, “तर मैले हार मानिनँ।”
२०६५ सालमा एसएलसीमा विशिष्ट श्रेणी ल्याएर पास गरे पनि साइन्स पढ्ने सपना पैसाको कमीले ठोक्कियो। बिर्तामोडमा भर्ना हुन पुगेका उनलाई घरबाट दिएको २०० रुपैयाँ नपुग्दा कमर्स रोज्नुपर्यो। त्यही पीडाले उनको मनमा एउटा संकल्प जन्मायो , गाउँका बालबालिकाले आफ्नो जस्तो अवस्था भोग्न नपरोस्।
२०६८ सालमा उनले आफ्नै घरबाट ट्युशन सेन्टर सुरु गरे। सुरुमा विद्यार्थी औंलामा गन्न सकिन्थे, तर आज कचनकवल मात्र होइन, भद्रपुरसम्मका ४–५ सय विद्यार्थी यहाँ पढ्न आउँछन्। बिहान ५ बजेबाट उनको दिन सुरु हुन्छ कक्षा ८, ९, १० का लागि गणित, ११ र १२ का लागि लेखा, अनि स्पेजिन, जापनिज, कोरियन, इजरायली भाषासम्म उनी आफैं सिकाउँछन्। शनिवार र सार्वजनिक बिदामा पनि उनको कक्षा बन्द हुँदैन।
उनको सबैभन्दा विशेष पहल भनेको ८, १० र १२ कक्षामा असफल भएका विद्यार्थीलाई पूर्ण नि:शुल्क पढाइ हो। “असफल भएपछि धेरैले पढाइ छोड्छन्, विदेश पलायन हुन्छन्। म चाहन्छु उनीहरू पुनः उठून्,” उनी भन्छन्। आजसम्म सयौं असफल विद्यार्थीहरू पुनः सफलतामा फर्किएका छन्।
अहिले उनी ३०० विद्यार्थीमध्ये करिब १०० जनालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराइरहेका छन्। यो मात्र होइन, सामाजिक काममा पनि उनी सक्रिय छन्, समुदायमा शिक्षा चेतना फैलाउनेदेखि विपन्न परिवारलाई सहयोग पुर्याउनेसम्म।
अनेक आलोचना, प्रतिस्पर्धी संस्थाहरूको दबाब र आर्थिक चुनौतीहरूका बाबजुद उनी टसमस छैनन्। “नेपालमै बसेर पनि परिवर्तन गर्न सकिन्छ,” उनी गर्वका साथ भन्छन्। सामुदायिक विद्यालयमा हुने राजनीतिक हस्तक्षेपलाई उनी सुधारको प्रमुख बाधा मान्छन् र व्यवस्थापनदेखि शिक्षक नियुक्तिसम्म राजनीति हटाउनुपर्ने धारणा राख्छन्।
पञ्जिकरण विभागको पाँचौं तहको सरकारी जागिर छोडेर शिक्षा क्षेत्रमा पूर्णरूपमा होमिनु साहस सबैसँग हुँदैन। अविनाश मोहलीको कथा केवल मोहली समुदायका लागि मात्र होइन, सम्पूर्ण नेपाली युवाका लागि प्रेरणाको उज्यालो हो।
One Response
हार्दिक बधाई ज्ञापन मोहली भाइ अनी सामाजिक सन्जाल मार्फत देश मा सन्देस छर्नु हुने हजुर को यस च्यानल लाई