भुवन तामाङ
धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङले गाएको एक भिडियो क्लीप सामाजिक सञ्जालमा भाइरल भयो । भिडियोमा क्लीक गरिहेर्दा, गुइँठे ओ साथी गुइँठे, गुइँठे ओ साथी गुइँठे, गुइँठे, गुइँठे गुइँगुइँठे, गुइँठे, गुइँठे गुइँगुइँठे लगायतका शब्दहरु युक्त गीत गीतार बजाउँदै रफ् किसिमले गाएका पाइयो धरानका मेयर साङपाङले । सो भिडियो क्लीपले धरानमा निकै उदुम मच्चाइसकेको छ । आम नेपालीहरुमाझ पनि निकै चर्चा पाएको छ । रुचीपूर्वक लाईक, कमेन्ट र शेयर गरिएका छन् । सायद गुइँठे, गुइँगुइँठे शब्दको मिठास, सन्देश, अर्थ या व्यंगले या अनौठोपनले पनि होला ।
बहालवाला मेयरहरुमा सर्वाधिक चर्चा पाउने मेयर हर्क साङपाङ नै हुन् भन्दा फरक पर्दैन । धरानका जनतालाई खाने पानी सहज बनाउन हरेक शनिबार मेयर हर्क साङपाङ आफै श्रम गर्न खोला या फिल्डतिर पुग्दछन् । यस क्रममा उनले देश, विदेशमा रहेका शुभचिन्तक, समर्थकहरुबाट धनदान, सामग्रीदान र श्रमदान आदि मनग्गे स्वस्फूर्तरुपमा पाएका छन् । यस कर्मलाई हेर्दा चमत्कार नै मान्न सकिन्छ । उनले जस्तो यतिधेरै समर्थन र सहयोग अरुले पाएका देखिएका छैनन्, चाहे जो जति नै लोकप्रिय भएपनि । हर्क साङपाङ आफै पाखुरी चलाउने अभियन्ता जो परे । त्यसैले उनले अर्गानिक परिचय बनाए । धरानलाई अलग किसिमले संसारभर चिनाए । यस अर्थमा उनलाई धेरैले तारिफ नै गरेका छन् तर उनी बेला बेला के के भन्छन् भन्छन् । जसले गर्दा धरान उपमहानगरपालिकाका पदाधिकारीहरु दिक्क भएका देखिन्छन् ।
धरानका मेयर हर्क साङपाङले धरान शहरको कुनै स्थानबाट हाते माईकमा बोल्दै पालिकाको बैठकमा वडाध्यक्षहरुलाई बैठकमा उपस्थित हुन घच्घच्याउन धरानका जनतालाई आव्हान गरेका भिडियो पनि सामाजिक सञ्जालमा छाएको छ । तर धरान उपमहानगरपालिकाका वडाध्यक्षहरु मेयर साङपाङदेखि रुष्ट भएका देखिएका छन् । यस्तोमा मेयर उस्ता हुन् कि वडाध्यक्षहरु उस्ता ? छुट्याउन गाह्रो भएको छ तर प्रमुख कुरो त मेयरले पदीय समन्वयकारी भूमिका निभाउन नसेकका हुन् कि र पदाधिकारीहरुलाई बोलिबचन तथा तर्कले मनाउन नसकेका हुन् कि ? धरान भन्दा परबाट हेर्दा छुट्याउन सकिने कुरो भएन तर मेयर हर्क साङपाङ बेला बेला अनौठो व्यबहार गर्दछन् भन्ने चाहिँ सबैले अनुमान लाउन सकिन्छ । गुइँठे बोलको गीत गाएका प्रसंगलाई पनि यस्तै कोटीमा राख्न गाह्रो नपर्ला । उनले सो भिडियो क्लीपमा गाएका गीतको शब्दहरु चाहिँ यसप्रकार रहेछन् ।
‘(गुइँठे ओ साथी गुइँठे, गुँइठे ओ साथी गुइँठे,
गुइँठे, गुइँठे गुइँगुइँठे, गुइँठे, गुइँठे गुइँगुइँठे)२,
खुटा तान्न छोड बरु पाइप तान्न आऊ,
पाइप तान्न आऊ न बरु पाइप तान्न आऊ,
खुटा तान्न छोड बरु,
भिर पाखामा (पाइप तान्न आऊ)२,
(झोला होइन साथी ढुंगा बोक (बगरै भरी)२)२,
गुइँठे ओ साथी गुइँठे, गुँइठे ओ साथी गुइँठे,
गुइँठे, गुइँठे गुइँगुइँठे, गुइँठे, गुइँठे गुइँगुइँठे ।
आलोचना र बिरोध मात्र किन गर्छौ तिमी,
काम छैन तिम्रो आउ नत्र श्रमदानमा आऊ,
(म सँग मिलेर एउटा गीत गाऊ)२,
गुइँठे ओ साथी गुइँठे, गुँइठे ओ साथी गुइँठे,
गुइँठे, गुइँठे गुइँगुइँठे, गुइँठे, गुइँठे गुइँगुइँठे,
फोगटमा के कुदि हिँड्छौ,
सुकिलो मुकिलो बनि,
फोगटमा के कुदि हिँड्छौ,
धुस्रै फुस्रे असिन पसिन काम गर बरु,
ढुंगा बोक्न आऊ गिटी कुट आऊ,
पाइप तान्न आउ,
बिरुवा रोप्दा पनि हुन्छ तिम्ले,
फोहोर सोहोर्दा पनि हुन्छ,
बाटोको फोहोर सफा गर्दा पनि हुन्छ,
गुइँठे ओ साथी गुइँठे, गुँइठे ओ साथी गुइँठे,
गुइँठे, गुइँठे गुइँगुइँठे, गुइँठे, गुइँठे गुइँगुइँठे ।’
यति गीत गाइसकेर मेयर साङपाङ भन्छन्, मित्रहरु कस्तो छ त हौ यो गीत ? राम्रो छ भने हाँस्नु होला, भन्दै आफै मुख बाएर हा हा हा गर्दछन् । यसरी हाँसिदिँदा यस गीत व्यंग्यत्मक नभएर रमाइलोका लागि गाएका हुन् कि भन्ने भान पर्दछ । यो गीत गाउँदै गर्दा मेयर हर्क साङपाङ गीतको बीच बीचमा पनि मुख निकै ठूलो पारेर या बाएर या आँ गरेर हा हा हा गर्दै हाँस्छन् पनि । त्यसै भएर यस गीतमा भनिएका साथी पात्रहरुले उतिसाह्रो इस्यू बनाएनन् भन्ने अनुमान गर्न सकिन्छ । स्वर सुन्दा चाहिँ उनी गायक पनि हुन सक्ने खुबी भएका रहेछन् जस्तो पनि लाग्छ । गल्तीवश मेयर भएका हुन् कि जस्तो पनि लाग्छ ।
यस्ता शब्दयुक्त उनले यो गीत किन गाए ? उनले गीतमा साथी भनेका छन् । सायद उनका आलोचकहरु या धरान उपमहानगरपालिकाका पदाधिकारीहरु या कसैलाई उनले सन्देश दिएका होलान् या के गरेका होलान् ? उनै जानुन् तर यो गीतले या उनको यस्तो अनौठो क्रियाकलापले धेरैलाई एकपटक सोच्न र गीत सुन्न बाध्य बनायो या भनौ समय लियो या खाइदियो । मनोरञ्जन पनि दियो । वास्तवमा गीतका शब्दहरुले केही न केही त अर्थ राख्दछन् । कामका लागि आव्हान गरिएका गीतका शब्दहरु विकास कार्यका लागि उपयोगी नै छन् । यो गीत फेसबुक आइडी ‘हर्क साङपाङ अ रिभोलुशन’मा सुन्न सकिने रहेछ ।
‘हर्क साङपाङ अ रिभोलुशन’ फेसबुक आइडी कस्ले संचालन गर्छन् ? उनीहरु नै जानुन् । यस आइडीमा बेला बेला निकै मन तान्ने किसिमको स्टाटस पनि आइपुग्छ । एउटा स्टाटस यस्तो छ, ‘म मर्दा मलामी नआउँदा पनि हुन्छ तर यो देश बनाउन मैले बोलाएको बेला अबश्य आउनु किनभने यो देश बनाउन म एक्लोले बनाउन सक्दिन ।’ त्यस्तै गरी कुनै एक भिडियो क्लीपमा मेयर हर्क साङपाङ भन्छन्, ‘के भ्रष्टाचार गरेको पैसाले किनेको सातहजारको जुत्ता लाउँदा मात्र म मेयर हुन्छु त ?’ जे होस् उनीबाट भ्रष्टाचार कोशौँ टाढा छ । उनले भनेका छन्, ‘भ्रष्टाचार गरेँ भने कालो मोसो दल्दिनु, म धरान छाड्छु, सात पुस्तासम्म आउँदिन ।‘
मेयर हर्क साङपाङले आफूलाई काम र काम गराउने कलाले अब्बल साबित गरे भने अबको सय वर्षपछि उनको यो गीत, विचार र प्रणहरु महान भनाईमा परिणत भएको पाइनेछ तर कहिले काहीँ घोचपेच गरिएका स्टाटस आइपुग्छन् र पो अलि निराश पारिदिन्छन् । जसले हर्क साङपाङको प्रख्यातिमा हानी पुर्याउँदछ । यस्तो हर्कतबाट भने उनी संयमित हुनु नै पर्छ कि ? अनि अहिलेसम्म धरान उपमहानगरपालिकाका पदाधिकारीहरुलाई किन समेटन, मनाउन र विकास कार्यमा सँगै लान सकेनन् ? यसले मेयर साङपाङको क्वालिटी आंकलन गर्न मिल्छ कि मिल्दैन ?
अब गुइँठे शब्दको अर्थ चाहिँ के रहेछ त ? शब्दकोशको यात्रा गरौँ, नेपाली बृहत् शब्दकोश (नेराप्रप्र) २०५५ अनुसार गुइँठेको शब्दार्थ, ‘जीउडाल र शरीरको ढाँचा नमिलेको, पुड्को, ग्वाँचे’ र गुइँठोको अर्थ चाहिँ, ‘गाईवस्तुको गोबर सुकी बनेको पदार्थ । गोबरको बाटुलो वा थेप्चो चक्का बनाई भित्ताहुँदो सुकाएर बाल्नका निम्ति तयार पारिने मोटो पाप्रो, सुकाएका गोबरको इन्धन ।’
शब्दकोशमा गुइँठेको अर्थ हेर्दा को चाहिँ या को को चाहिँ गुइँठे हुन् त भन्ने छर्लङ्ग नभएपनि अनुमान त पक्कै पनि लगाउन सकिन्छ । मेयर साङपाङले त साथीहरुलाई गुइँठे भनेका गीतबाटै बुभ्mन सकिन्छ तर हर्क साङपाङ स्वयम् पनि कति हदसम्म गुइँठे हुन् ? मेयर साब आफूले पनि मनन् गर्ने हो कि त ?