Search
Close this search box.
Search
Close this search box.

गृहमा रवि फर्किएपछि प्रहरीमा तरंग, भावी आइजीपीका दाबेदारहरू तनावमा


गृहमा रवि फर्किएपछि प्रहरीमा तरंग, भावी आइजीपीका दाबेदारहरू तनावमा

काठमाडौं : गृह मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने फर्किएसँगै नेपाल प्रहरी तरंगित बनेको छ । उनले प्रहरीलाई कसरी परिचालन गर्छन् भन्नेमा प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर लगायत धेरैको चासो छ ।यसअघि गत वर्ष ३४ दिन गृह नेतृत्व सम्हाल्दा लाामिछानेले प्रहरीमा सरुवा–बढुवाका निर्णय गर्न पाएका थिएनन् । त्यसकारण यसपटक प्रहरी परिचालनमा उनको वास्तविक मूल्याङकन हुनेछ ।

उनले तत्कालै डिएसपीबाट एसपीमा बढुवा तथा डिएसपीको सरुवा गर्नुपर्ने छ । प्रहरीमा एसपीका आठ पद रिक्त भएको पाँच महिना भइसकेको छ । कसलाई बढुवा गर्ने विवादले निर्णय हुन सकेको छैन । यसमा उनले विवादरहित ढंगले काम गर्नुपर्ने चुनौती छ ।

EPIC

साथै डिएसपी र इन्सपेक्टरको नियमित सरुवा पनि हुन सकेको छैन । सरुवा–बढुवाबाटै लामिछानेको पहिलो मूल्याङकन हुनेछ ।रविको आगमनले प्रहरीको भावी नेतृत्वको दाबेदारहरू पनि तनावमा परेका छन् । डेढ वर्षपछि आइजीपीका दाबेदार अधिकृतहरुको अबको केही महिनामै डिआइजीमा बढुवा गर्नुपर्ने हुन्छ ।

आगामी असारसम्म डिआइजीका ६ पद रिक्त हुनेछन् । जसमा डेढ वर्षपछि आइजीपीका दाबेदार मानिएका एसएसपीहरु समेत बढुवा हुने सम्भावना छ । पहिलो नम्बरमा बढुवाका लागि ठूलो संघर्ष हुने सम्भावना छ ।

बरियतामा सो ब्याचबाट हाल पहिलो नम्बरमा गणेश चन्द, दोस्रो नम्बरमा शिद्धिबिक्रम शाह, तेस्रोमा सुशिल सिंह राठौर चौथोमा उमा प्रसाद चतुर्वेदी, पाँचौमा दानबहादुर कार्की र छैंठौंमा डा.मनोज कुमार केसी छन् । उनीहरुमध्ये शाह, कार्की र डा. केसी भावी आइजीपीका प्रमुख दाबेदार मानिन्छन्, अरुको पहिले नै अवकाश हुने सम्भावना छ ।

बढुवामा यसअघि अघि रहेका शाह विवादास्पद अधिकृत मानिन्छन् । रौतहटमा हुँदा पत्रकारलाई सुनियोजित रुपमा लागूऔषधमा फसाएको घटनामा उनी कारबाहीमा परेका थिए । ललितपुरमा पनि कमजोर कमाण्डकै कारण बालकुमारी घटना भएको भन्दै दुई महिनाअघि सरकारले तानेको थियो ।

ललितपुरमा देउराली सहकारीका सञ्चालकलाई जोगाएको अभियोग समेत उनीमाथि लागेको थियो । राष्ट्रिय अनुसन्धान विभागबाट चलखेल गरेर प्रहरीमा आएका उनी कार्यसम्पादनमा कमजोर तथा आर्थिक रुपमा बलियो अधिकृतका रुपमा चिनिन्छन् । त्यसकारण अबको बढुवामा उनलाई निकै समस्या हुने देखिन्छ । शाह नेपाली कांग्रेस निकट मानिन्छन् ।

यही ब्याचका अर्का दाबेदार दानबहादुर कार्की हाल प्रहरी महानिरीक्षकको सचिवालयमा छन् । अर्का एसएसपी मनोज केसी नक्कली भुटानी शरणार्थी मुद्दामा बालकृष्ण खाणलाई पक्राउ गरेर चर्चामा आएका अधिकृत हुन् । उनीहरुबीच डिआइजी बढुवाका लागि अहिलेदेखि नै संघर्ष सुरु भइसकेको छ ।

अहिलेकै ३० वर्षे सेवाहदको प्रावधान कायम रहेमा यो ब्याचबाट २०८२ को कात्तिकमा प्रहरी महानिरीक्षक हुनेछन् । हालका प्रहरी महानिरीक्षक कुँवरको कार्यकाल २०८१ को चैतसम्म छ । उनीपछि हाल एआइजी रहेका दिपक कुमार थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्ये एक २०८२ को भदौसम्म आइजीपी हुनेछन् ।

त्यसपछि करिब दुई महिना हाल डिआइजी रहेका चन्द्रकुबेर खापुङ र लालमणि आचार्यमध्ये एक आइजीपी हुने सम्भावना छ । उनीहरुपछि यही ब्याच प्रहरी नेतृत्वमा पुग्नेछ ।२०५४ साल चैत १८ मा भर्ना भएको ब्याचबाट करिब साढे दुई वर्ष आइजीपी हुने भएकाले पनि प्रतिस्पर्धा पेचिलो छ । शाह भने राष्ट्रिय अनुसन्धानमा २०५३ पुसमा भर्ना भएका हुन् ।

यद्यपी प्रहरीमा ३० वर्षे सेवाहद हटाउनुपर्ने माग पनि बलियो हुँदै गएको छ । प्रहरीको नेतृत्वमा अनुभवको कमी भएको, अनुभवी प्रहरीलाई राज्यले छिट्टै अवकाश दिनुपरेको, पेन्सन भार बढेको लगायतका कारणले सेवाहद हटाउनुपर्ने दबाब सरकारमाथि छ । सेवाहदको विषयमा गृहमन्त्री लामिछानेको बुझाई र निर्णयले पनि प्रहरीमा भावी नेतृत्व तय हुनेछ ।

बुधबार पदभार ग्रहणपछि बोल्दै लामिछानेले प्रहरीको सरुवा–बढुवामा आफूले कत्ति पनि हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बोलीलाई व्यवहारमा कसरी कार्यान्वयन गर्छन् त्यो प्रहरीका लागि प्रतिक्षाको विषय छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *