Search
Close this search box.
Search
Close this search box.

गृहमा रवि फर्किएपछि प्रहरीमा तरंग, भावी आइजीपीका दाबेदारहरू तनावमा

गृह मन्त्रालयमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने फर्किएसँगै नेपाल प्रहरी तरंगित बनेको छ । उनले प्रहरीलाई कसरी परिचालन गर्छन् भन्नेमा प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवर लगायत धेरैको चासो छ ।यसअघि गत वर्ष ३४ दिन गृह नेतृत्व सम्हाल्दा लाामिछानेले प्रहरीमा सरुवा–बढुवाका निर्णय गर्न पाएका थिएनन् । त्यसकारण यसपटक प्रहरी परिचालनमा उनको वास्तविक मूल्याङकन हुनेछ ।

उनले तत्कालै डिएसपीबाट एसपीमा बढुवा तथा डिएसपीको सरुवा गर्नुपर्ने छ । प्रहरीमा एसपीका आठ पद रिक्त भएको पाँच महिना भइसकेको छ । कसलाई बढुवा गर्ने विवादले निर्णय हुन सकेको छैन । यसमा उनले विवादरहित ढंगले काम गर्नुपर्ने चुनौती छ ।

EPIC EPIC

साथै डिएसपी र इन्सपेक्टरको नियमित सरुवा पनि हुन सकेको छैन । सरुवा–बढुवाबाटै लामिछानेको पहिलो मूल्याङकन हुनेछ ।रविको आगमनले प्रहरीको भावी नेतृत्वको दाबेदारहरू पनि तनावमा परेका छन् । डेढ वर्षपछि आइजीपीका दाबेदार अधिकृतहरुको अबको केही महिनामै डिआइजीमा बढुवा गर्नुपर्ने हुन्छ ।

आगामी असारसम्म डिआइजीका ६ पद रिक्त हुनेछन् । जसमा डेढ वर्षपछि आइजीपीका दाबेदार मानिएका एसएसपीहरु समेत बढुवा हुने सम्भावना छ । पहिलो नम्बरमा बढुवाका लागि ठूलो संघर्ष हुने सम्भावना छ ।

बरियतामा सो ब्याचबाट हाल पहिलो नम्बरमा गणेश चन्द, दोस्रो नम्बरमा शिद्धिबिक्रम शाह, तेस्रोमा सुशिल सिंह राठौर चौथोमा उमा प्रसाद चतुर्वेदी, पाँचौमा दानबहादुर कार्की र छैंठौंमा डा.मनोज कुमार केसी छन् । उनीहरुमध्ये शाह, कार्की र डा. केसी भावी आइजीपीका प्रमुख दाबेदार मानिन्छन्, अरुको पहिले नै अवकाश हुने सम्भावना छ ।

बढुवामा यसअघि अघि रहेका शाह विवादास्पद अधिकृत मानिन्छन् । रौतहटमा हुँदा पत्रकारलाई सुनियोजित रुपमा लागूऔषधमा फसाएको घटनामा उनी कारबाहीमा परेका थिए । ललितपुरमा पनि कमजोर कमाण्डकै कारण बालकुमारी घटना भएको भन्दै दुई महिनाअघि सरकारले तानेको थियो ।

ललितपुरमा देउराली सहकारीका सञ्चालकलाई जोगाएको अभियोग समेत उनीमाथि लागेको थियो । राष्ट्रिय अनुसन्धान विभागबाट चलखेल गरेर प्रहरीमा आएका उनी कार्यसम्पादनमा कमजोर तथा आर्थिक रुपमा बलियो अधिकृतका रुपमा चिनिन्छन् । त्यसकारण अबको बढुवामा उनलाई निकै समस्या हुने देखिन्छ । शाह नेपाली कांग्रेस निकट मानिन्छन् ।

यही ब्याचका अर्का दाबेदार दानबहादुर कार्की हाल प्रहरी महानिरीक्षकको सचिवालयमा छन् । अर्का एसएसपी मनोज केसी नक्कली भुटानी शरणार्थी मुद्दामा बालकृष्ण खाणलाई पक्राउ गरेर चर्चामा आएका अधिकृत हुन् । उनीहरुबीच डिआइजी बढुवाका लागि अहिलेदेखि नै संघर्ष सुरु भइसकेको छ ।

अहिलेकै ३० वर्षे सेवाहदको प्रावधान कायम रहेमा यो ब्याचबाट २०८२ को कात्तिकमा प्रहरी महानिरीक्षक हुनेछन् । हालका प्रहरी महानिरीक्षक कुँवरको कार्यकाल २०८१ को चैतसम्म छ । उनीपछि हाल एआइजी रहेका दिपक कुमार थापा, सुदीप गिरी र टेकबहादुर तामाङमध्ये एक २०८२ को भदौसम्म आइजीपी हुनेछन् ।

त्यसपछि करिब दुई महिना हाल डिआइजी रहेका चन्द्रकुबेर खापुङ र लालमणि आचार्यमध्ये एक आइजीपी हुने सम्भावना छ । उनीहरुपछि यही ब्याच प्रहरी नेतृत्वमा पुग्नेछ ।२०५४ साल चैत १८ मा भर्ना भएको ब्याचबाट करिब साढे दुई वर्ष आइजीपी हुने भएकाले पनि प्रतिस्पर्धा पेचिलो छ । शाह भने राष्ट्रिय अनुसन्धानमा २०५३ पुसमा भर्ना भएका हुन् ।

यद्यपी प्रहरीमा ३० वर्षे सेवाहद हटाउनुपर्ने माग पनि बलियो हुँदै गएको छ । प्रहरीको नेतृत्वमा अनुभवको कमी भएको, अनुभवी प्रहरीलाई राज्यले छिट्टै अवकाश दिनुपरेको, पेन्सन भार बढेको लगायतका कारणले सेवाहद हटाउनुपर्ने दबाब सरकारमाथि छ । सेवाहदको विषयमा गृहमन्त्री लामिछानेको बुझाई र निर्णयले पनि प्रहरीमा भावी नेतृत्व तय हुनेछ ।

बुधबार पदभार ग्रहणपछि बोल्दै लामिछानेले प्रहरीको सरुवा–बढुवामा आफूले कत्ति पनि हस्तक्षेप नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बोलीलाई व्यवहारमा कसरी कार्यान्वयन गर्छन् त्यो प्रहरीका लागि प्रतिक्षाको विषय छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *