चीनबाट गैरकानूनी रुपमा हङकङ प्रवेश गर्ने क्रममा दुर्घटनामा परेर हङकङमा निधन भएका झापा मेचीनगरका उत्तम थापाको शब नेपाल ल्याउने प्रक्रिया शुरु भएको छ ।
मेचीनगर–१० टीमाई भ्यालीका थापा चीनवाट हङकङ जाने क्रममा गत ४ मे २०२४ मा दुर्घटनामा परेका थिए । उनको भदौ १७ गते हङ्कङस्थित पिन्स मार्गेट हस्पिटलमा उपचारका क्रममा
निधन भएको हो । उनी डुङ्गाबाट झरेर घाइते भएका थिए । चार महिनासम्म उनको हङ्कङस्थित अस्पतालमा उपचार गरिएको थियो । तर उनको उपचारकै क्रममा निधन भएको हो ।
घाइते थापालाई नेपाल ल्याउने तयारी गरिरहेका बेला उनको निधन भएको नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेले बताए । उपचारको क्रममा करिव १५ लाख हङ्कङ डलर अर्थात नेपाली दुई करोड ७० लाख रुपैयाँ खर्च भएको र सो रकम समाजसेवी पुष्पा गुरुङ लगायतको पहलमा मिनाह गरिएको अन्तर्राष्ट्रिय झापाली समाजका निवर्तमान अध्यक्ष छत्र सुब्बाले जानकारी दिए ।
उनको शव नेपाल ल्याउनका लागि कानूनी प्रक्रिया भइरहेको थेवेले बताए । ६० हजार हङ्कङ डलर अर्थात दश लाख ८० हजार रुपैयाँ शव ल्याउन लाग्ने बताइएको आजको पूर्वाञ्चल दैनिकमा खबर छ ।