Search
Close this search box.
Search
Close this search box.

गौतमबुद्ध विमानस्थलमा १० मेगावाटको सोलार प्लान्ट राखिने

काठमाडौं। भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सोलार प्लान्ट राख्ने तयारी गरिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच विमानस्थलमा सोलार प्लान्ट राखेर विद्युत् आपूर्ति गर्नेबारे छलफल भएको हो।

EPIC

बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई एक साताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर मन्त्रीहरूलाई बुझाउन निर्देशन दिएको छ।

एसियाली विकास बैंक (एडीबी) को सहयोगमा निजी क्षेत्रमार्फत् भैरहवा विमानस्थलको खाली जमिनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्ने योजना रहेको छ।

एडीबीले सोलार प्लान्टका लागि नेपाललाई दिएको १८ अर्ब पाँच करोड रूपैयाँमध्ये झापामा ५, बुटवलमा ७, पोखरामा ४ र चनौटामा ८ मेगावाट विद्युत् उत्पादन गर्ने प्रक्रिया यसअघि नै अघि बढेको छ।

जसमध्ये बुटवल र पोखरामा निर्माण हुने प्लान्टका लागि प्राधिकरणले विद्युत् खरिद–बिक्री सम्झौतासमेत गरिसकेको छ।

ती योजनामा एडीबीले दिने सबै रकम खर्च नहुने र विमानस्थलका लागि ऊर्जा आवश्यक पर्ने भएकाले १० मेगावाट क्षमताको सोलार प्लान्ट राख्ने योजना बनेको हो।

सोलार प्लान्ट निर्माणका लागि आवश्यक जमिन नेपाल नागरिक उड्डयन प्राधिकरणले २५ वर्षका लागि नेपाल विद्युत् प्राधिकरणलाई भाडामा दिनेछ।

निजी क्षेत्रलाई सीधै जग्गा दिँदा प्रक्रियागत झन्झट हुने र धेरै समय लाग्ने भएकाले विद्युत् प्राधिकरण र नागरिक उड्डयनबीच जग्गा भाडासम्बन्धी सम्झौता गर्न लागिएको छ।

प्राधिकरणले निजी क्षेत्रलाई सोलार प्लान्ट निर्माणको जिम्मा दिने र उत्पादित विद्युत् खरिद गरी विमानस्थलका लागि आपूर्ति गर्ने प्रस्तावमा छ।

शुक्रबार ऊर्जा मन्त्रालयमा आयोजित छलफलमा मन्त्रीद्वय वर्षमान पुन र योगेश भट्टराईका साथै पर्यटन सचिव यादवप्रसाद कोइराला, ऊर्जा मन्त्रालयका निमित्त सचिव प्रवीण अर्याल, सहसचिव मधुप्रसाद भेटवाल, विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य, नेपाल नागरिक उडड्यन प्राधिकरणका पदाधिकारी सहभागी थिए।

बैठकमा ऊर्जामन्त्री पुनले नेपाल जलविद्युतमा आत्मनिर्भर हुने चरणमा रहेको भए पनि वैकल्पिक ऊर्जा सन्तुलनका लागि सोलार प्लान्ट पनि जरुरी रहेको उल्लेख गरे। उनले एक साताभित्र उपयुक्त प्रस्ताव ल्याउन निर्देशन दिए।

यस्तै पर्यटनमन्त्री भट्टराईले सोलार प्लान्टमार्फत् विमानस्थल सञ्चालन गर्न सकिए अन्तर्राष्ट्रियरूपमै राम्रो सन्देश जाने बताए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *