गौरादह। झापाको गौरादह नगरपालिका वडा नं. ३ की जनप्रतिनिधि कल्पना अधिकारीले आफ्नो जन्मदिनलाई सामाजिक सेवा र वातावरण संरक्षणसँग जोडेर अनुकरणीय तरिकाले मनाएकी छन् । परम्परागत केक काट्ने र भड्किलो भोजको सट्टा उनले नजिकैको गौरादह वडा नं.३ मा अवस्थित दुर्गा देवी आधारभूत विद्यालयमा विपन्न परिवारका विद्यार्थीहरूसँग समय बिताउँदै स्टेसनरी सामग्री वितरण तथा वृक्षरोपण गरेर जन्मदिनलाई स्मरणीय बनाइन् ।
कल्पनाले विद्यालयमा पुगेर ७० जना विपन्न परिवारका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै विभिन्न जातका विरुवाहरु विद्यालयलाई हस्तान्तरण गरिन् ।
‘जन्मदिन केवल व्यक्तिगत उत्सव होइन, यो समाज र वातावरणप्रति जिम्मेवारी देखाउने अवसर पनि हो,’ कल्पनाले भनिन्, ‘विपन्न विद्यार्थीहरूलाई शैक्षिक सामग्री प्रदान गर्दा उनीहरूको अनुहारमा देखिएको खुशी र वृक्षरोपणले वातावरणमा पुग्ने योगदानले मेरो जन्मदिन अझ विशेष बनेको अनुभूति भएको छ।
विद्यालयकी प्रधानाध्यापक रिजु प्रसाईंले यो कदमले विद्यार्थीहरूमा पढाइप्रति उत्साह बढ्नुका साथै वातावरण संरक्षणको महत्त्वबारे चेतना जाग्ने बताइन् । ‘यस्तो सकारात्मक कार्यले हाम्रा विद्यार्थीहरूलाई सामाजिक जिम्मेवारी र प्रकृतिप्रति प्रेम सिक्ने अवसर प्राप्त भएको छ,’ उनले भनिन् ।
यो कार्यक्रममा सहभागी स्थानीयवासी र विद्यार्थीहरूले कल्पनाको यो फरक शैलीको जन्मदिन उत्सवलाई सामाजिक एकता र वातावरण संरक्षणको सन्देशमूलक अभियानको रूपमा लिएका छन् । गौरादहमा यस्ता कार्यले नयाँ परम्पराको थालनी गरेको भन्दै अन्य जनप्रतिनिधि र समुदायलाई पनि यस्तै सकारात्मक कार्यमा जोडिन प्रेरणा मिलेको छ ।