गौरीगञ्ज — झापाको गौरीगञ्ज गाउँपालिकामा आगामी आर्थिक वर्षका लागि ५० करोडभन्दा बढी बजेट बराबरका योजनाहरू प्रस्तावित भएका छन्। गाउँपालिका उपाध्यक्ष पुजन न्यौपाने कुँवरका अनुसार गाउँपालिकामा ३ करोडभन्दा माथिका १५ वटाभन्दा बढी योजना परेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने गौरीगञ्ज वडा नं. ३ र ४ का खानेपानी योजनाका लागि ३ करोड, वडा नं. ५ र ६ मा खानेपानी योजना विस्तारका लागि ३ करोड, चिउरामिलदेखि क्याम्पससम्मको सडक निर्माणका लागि ३ करोड, स्मार्ट सिटीका पूर्वाधार निर्माणका लागि ३ करोड, चिल्हारा चोकदेखि छहारी चोकसम्मको सडक कालोपत्रका लागि ३ करोड, वडा नं. ३ र ६ मा छठ घाट निर्माणका लागि ३ करोड, वडा नं. ५ को जनता बाल विकास प्रा.वि. भवन निर्माणका लागि ३ करोड, वडा नं. ३ को गौरी प्रा.वि. भवन निर्माणका लागि ३ करोड, गौरीगञ्ज क्याम्पस भवन निर्माणका लागि ३ करोड, नयाँ शहर व्यवस्थापनका लागि १० करोड बजेट प्रस्ताव गरिएको छ।

त्यस्तै, गौरादहको सीमा बाट ठेकिटोल–सुदामभिट्टा हुँदै बेलडागी–हुकागाछी जोड्ने सडक निर्माणका लागि ५ करोड, ज्ञानकुञ्ज स्कुलदेखि लालडिगी कार्की डाँडा हुँदै पेट्रोलपम्प जोड्ने सडकका लागि ३ करोड, तथा गौरीगञ्ज–लतिझुला सडक निर्माणका लागि पनि ३ करोड रुपियाँ बजेट प्रस्ताव गरिएको छ।
सांसद एलपी सावाको निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत बिस्फोट चोकदेखि पूर्व बीओपी जाने सडकका लागि ३ करोड, रामजानकी आ.वि. र शिशु कल्याण आ.वि. का भवन निर्माणका लागि पनि ३–३ करोड रुपैयाँको योजना परेको उपाध्यक्ष कुँवरले जानकारी दिइन्।
उपाध्यक्ष कुँवरको नेतृत्वमा वडा नं. ३ का वडाध्यक्ष श्रवण गिरी, वडा नं. ४ का वडाध्यक्ष फेका गिरी, र वडा नं. ५ का वडाध्यक्ष विजय सिंह गङ्गाईले विभिन्न मन्त्रालयहरूमा गएर बारम्बार योजनाका लागि पहल गरेका थिए।
गत फागुन महिनाको अन्तिम साता राष्ट्रिय योजना आयोगले योजना छनौट गर्ने समयमा उपाध्यक्ष कुँवरसहितको टोली काठमाडौँ पुगेर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय, कृषि मन्त्रालय, उद्योग मन्त्रालय, खानेपानी मन्त्रालय, र महिला तथा बालबालिका मन्त्रालयमा पुगेर योजनाका लागि माग गरिएको थियो।
त्यसपछि, वैशाख १० गते एमाले गौरीगञ्जका अध्यक्ष विष्णु न्यौपानेसहितको टोली पुनः काठमाडौँ पुगेर मन्त्रालयहरूमा योजना मागको फलोअप गरेका थिए। सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी योजनाको सूची बुझाइएको थियो।
तीन वर्षसम्म वडा नं. ३ मा केन्द्रस्तरको कुनै योजना नपरेको विषयमा वडाध्यक्ष श्रवण गिरीले प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तरसमेत गरेका थिए।
यस आर्थिक वर्षमा परेका योजनामध्ये धेरैजसो वडा नं. ३ मा केन्द्रित छन्। उपाध्यक्ष कुँवरका अनुसार शहरी विकास मन्त्रालय र अन्य मन्त्रालयहरूबाट साना योजना पनि परेका छन्, जसको सूची अझै सार्वजनिक भइसकेको छैन।
“यस पटकको योजनाबाट हामी निकै उत्साहित छौँ। प्रदेशबाट पनि योजना आउनेमा हामी आशावादी छौँ। गाउँपालिका गठन भएयता गौरीगञ्जमा यति धेरै बजेटको योजना आएको यो पहिलो पटक हो,” उपाध्यक्ष कुँवरले भनिन्।