झापा। आगामी चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि गौरीगञ्ज बहुमुखी क्याम्पसमा सत्ता गठबन्धन र अन्य दलका भातृ संगठनहरूलाई काउन्टर दिँदै स्वतन्त्र विद्यार्थीहरूको पूर्ण प्यानलले उम्मेदवारी दर्ता गरेको छ।
स्वतन्त्र प्यानलबाट अध्यक्ष पदका लागि स्नातक तह दोस्रो वर्षका विद्यार्थी लालदेव यादवको नेतृत्वमा उम्मेदवारी दर्ता भएको हो। सो प्यानलमा सचिव पदमा अभिषेक राजवंशी, कोषाध्यक्ष पदमा नितु यादव, तथा सदस्य पदमा लक्ष्मी गौतम, प्रज्वल खनाल, र महिमा राजवंशी रहेका छन्।
स्वतन्त्र उम्मेदवार यादवका अनुसार देशभरका शैक्षिक संस्थाहरूमा राजनीतिक दलका हस्तक्षेपका कारण शैक्षिक वातावरण बिग्रिएको अवस्थामा स्वतन्त्र रूपमा विद्यार्थीहरूको समस्या समाधान गर्न र क्याम्पसको शैक्षिक सुधारका लागि आफू लगायत आफ्नो प्यानलले उम्मेदवारी दिएका हुन्। क्याम्पसमा राजनीतिक दलहरूको आडमा भइरहेको भ्रष्टाचार तथा अनियमितताविरुद्ध बोल्न दलनिकट विद्यार्थी संगठनहरूले नसकेको भन्दै उनले स्वतन्त्र प्यानलले त्यसलाई तोड्नका लागि यो चुनाव जित्न आवश्यक रहेको बताए।
कुल १०० मतदाता रहेको यस क्याम्पसको निर्वाचनमा यसअघि नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) र नेकपा (एमाले) को भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले गठबन्धन गर्दै संयुक्त प्यानल बनाएका छन्। सो प्यानलबाट अध्यक्ष पदका लागि नेविसंघका रोशन यादव, सचिव पदका लागि अनेरास्ववियुका डिल्लीराम पौडेल, कोषाध्यक्ष पदका लागि अनेरास्ववियुका मुजफ्फर मिया, तथा सदस्यहरूमा अनेरास्ववियुका युगेस कटुवाल, इशा कुमारी राजवंशी, र नेविसंघका डिल्ली राजवंशी रहेका छन्।
त्यस्तै, नेकपा (माओवादी केन्द्र) को भातृ संगठन अखिल (क्रान्तिकारी) बाट अध्यक्ष पदका लागि मोहिनी कुमारी राजवंशी, सचिव पदका लागि रोहित कुमार ठाकुर, कोषाध्यक्ष पदका लागि लिजा गिरी, तथा सदस्य पदका लागि सञ्जय मुर्मु, हनिसा ताजपरिया, र अस्मिता राजवंशीले उम्मेदवारी दिएका छन्।