पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाबाट गैरकानुनी रूपमा ऋण लिई अपचलन गरेको विषयमा अनुसन्धान गर्न प्रहरीले गोर्खा मिडिया नेटवर्क (ग्यालेक्सी टेलिभिजन) का संस्थापक छविलाल जोशीको घरमा छापा मारेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा जिल्ला प्रहरी परिसर काठमाडौंले जोशीको शंखमूलस्थित घरबाट सहकारीका खातापाता रहेका सफ्टवेयरसहितका हार्डड्राइभ नियन्त्रणमा लिएको हो ।
‘सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको सम्पूर्ण कारोबार काठमाडौंबाटै हुने गरेको रहेछ । त्यसको सफ्टवेयरसमेत यहीं रहेछ, पोखरामा कार्यालय र केही सामान्य कागजात मात्रै रहेछन्,’ प्रहरी अधिकारीहरूले भने, ‘यहाँ रहेका विवरण तथा सफ्टवेयरहरू नियन्त्रणमा लिइदिनू भनेर कास्की प्रहरीले अनुरोध गरेको थियो । केही विवरण नियन्त्रणमा लिएका छौं ।
गोर्खा मिडिया नेटवर्कमा गितेन्द्रबाबु (जीबी) राई, पूर्वडीआईजी जोशी र पूर्वसञ्चारकर्मी रवि लामिछाने साझेदार थिए । २०७८ वैशाखमा कम्पनी रजिस्ट्रार कार्यालयमा शेयर कायम हुँदा ५० प्रतिशत शेयरसहित राई अध्यक्ष, ३५ प्रतिशत शेयरसहित जोशी उपाध्यक्ष र १५ प्रतिशत शेयरसहित लामिछाने प्रबन्ध निर्देशक थिए । ४ करोड २० लाख रुपैयाँको उक्त शेयर २०७८ असोज २३ मा राईलाई बिक्री गरी रवि बाहिरिएका हुन् ।
पोखरा, चितवन, वीरगन्ज, बुटवल, नेपालगन्ज र काठमाडौंजस्ता प्रमुख सहरमा सहकारी खोलेका जीबी समूहले करिब ४९ हजार सर्वसाधारणको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी हिनामिना गरेको प्रारम्भिक विवरणले देखाएको छ ।