काठमाडौँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कमला नगरपालिका, धनुषाका तत्कालीन नगरप्रमुख राम उदगार गोइतसहित १० जना विरुद्ध आज विशेष अदालत, काठमाडौँमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, लग्मा बजार नजिकको पोखरीको डिलमा माटो पुर्ने र घाट निर्माणमा ठेक्का प्रक्रियामा मिलेमतो गरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अभियोगमा उनीमाथि आरोपपत्र दायर गरिएको हो।
आर्थिक वर्ष २०७६/७७ का लागि स्वीकृत ७५ लाख लागत अनुमान भएको योजनामा सबैभन्दा कम कबोल दिने ‘सेट स्क्वायर कन्सट्रक्सन प्रालि’सँग सम्झौता नगरी दोस्रो कम कबोल दिने ‘इन्फ्रास्ट्रक्चर एस एण्ड बी बिल्डर्स प्रालि’लाई गैरकानुनी रूपमा ठेक्का दिइएको आयोगले जनाएको छ।
आयोगको अनुसन्धानमा, नगरपालिकाका पदाधिकारीहरूले सेट स्क्वायर कन्सट्रक्सनको कागजात तथा बैंक जमानत लुकाइ नष्ट गरी सम्झौता रोक्ने निर्णय गरेको पाइएको छ। विसं २०७७ जेठ २१ गते इन्फ्रास्ट्रक्चर एस एण्ड बी बिल्डर्ससँग ७२ लाख १८ हजार ६८० को दरले सम्झौता गरी भुक्तानी समेत गरिएको थियो। यसरी गरिएको ठेक्का हेरफेरबाट २९ लाख ४४ हजार १३७ दशमलव २९ बराबरको सरकारी धन हिनामिना भएको आयोगले निष्कर्ष निकालेको छ।
आरोपपत्रमा राम उदगार गोइतसहित कार्यपालिका सदस्य धनेश्वर यादव, धर्मनाथ मण्डल, पल्टु कवारी, विनोद राम, समसुल मिया मोमिन, निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रकुमार सढान, लेखापाल सञ्जिवकुमार महतो, जिउँस शाखा प्रमुख जुगलकिशोर यादव तथा ठेक्का पाउने कम्पनीका अध्यक्ष सन्तोषकुमार यादवलाई प्रतिवादी बनाइएको छ। उनीहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजायको मागसहित आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता पौडेलले जानकारी दिएका छन्।



















